रास्वपाको समानुपातिक सूचीबाट पछि हटिन् त्रिशला गुरुङ

0
Shares


काठमाडौं । गायिका तथा चिकित्सक डा.त्रिशाला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।

पार्टीले उनलाई समानुपातिक उम्मेदवारका रूपमा बन्दसूचीमा राख्दै निर्वाचन आयोगमा पेस गरे पनि व्यक्तिगत र पेशागत कारण देखाउँदै उक्त पदमा नरहने निर्णय गरेको उल्लेख गरेकी हुन् ।

आफ्नो निर्णय सार्वजनिक गर्दै डा. गुरुङले पार्टी नेतृत्व र शुभेच्छुकहरू प्रति आभार व्यक्त गरेकी छिन् । उम्मेदवारी फिर्ता लिनुको मुख्य कारण आफ्नो चिकित्सकीय पेशा र कला क्षेत्रप्रतिको पूर्ण समर्पण रहेको उनले बताएकी छिन्।

‘गहन आत्ममूल्याङ्कन पश्चात् मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको छु,’ उनले भनिन्, ‘मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउनु नै मेरो अहिलेको मुख्य संकल्प हो।’

डा. गुरुङले राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य र नागरिकको आवाजका रूपमा आफ्नो क्षमता र विवेकले भ्याएसम्म निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

उनले आफूमाथि विश्वास गरेर उम्मेदवारका लागि सिफारिस गरेकोमा पार्टी नेतृत्वप्रति सम्मान प्रकट गर्दै पार्टीको भावी राजनीतिक यात्राका लागि शुभकामना समेत दिएकी छिन्।