
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य रकमलाई मुलुकको ठूलो पूर्वाधार निर्माणमा लगाउनुपर्ने बताएका छन् ।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् ।
बैंकमा रहेको पुँजीलाई ठूला पूर्वाधारमा लगानी गरेमा त्यसले रोजगारी सिर्जना हुने र प्रयोग नभएर बसेको रकमको पनि उचित प्रयोग हुने भट्टराईको भनाइ छ । नेपाल जस्तो गरिब मुलुकमा पुँजी अभाव हुनुपर्नेमा प्रयोग नभएको बताउँदै उनले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गरे ।
‘कृषि केन्द्रीत हाम्रो अर्थतन्त्रलाई औद्योगिकरणतर्फ लैजान आवश्यक छ । यसो नगरेसम्म हाम्रो अर्थतन्त्र सबल बन्न सक्दैन । राज्य, निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच समन्वय गरेर अगाडि बढेमा छोटो समयमा सहज रुपान्तरण हुन्छ,’ भट्टराईले भने, ‘यसर्थ, यस विषयमा हामी वैचारिक रुपमा स्पष्ट हुनुपर्छ ।’ उनले ६० प्रतिशत नागरिक कृषिमा आधारित रहेको मुलुक विकास नहुने भन्दै अब कृषिबाट औद्योगिकरणतर्फ जान आवश्यक रहेको बताए ।
‘छ/छ महिना वा एक/एक वर्षमा सरकार परिवर्तन गरेर राजनीतिक स्थायीत्व आउँदैन । राजनीति र नीतिगत स्थायीत्व नभएसम्म अर्थतन्त्रले टेकअफ गर्दैन,’ भट्टराईंले भने, ‘यसर्थ, हामीले शासकीय स्वरुप परिवर्तन गरेर हाम्रो संयन्त्र र संस्थाहरुलाई सबल बनाउन लाग्नुपर्छ ।’ उनले यसो गरेमा बाहिरको लगानी पनि नेपाल ल्याउन सकिने बताए ।








प्रतिक्रिया