राष्ट्र बैंकले २ खर्बको ऋणपत्र जारी गर्ने, सञ्चालक समितिले दियो स्वीकृति


काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्न स्वीकृति दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले २ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

‘२ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत भएको छ । तर, २ खर्ब रुपैयाँ नै एकैपटक जारी हुँदैन,’ डेपुटी गभर्नर मिश्र भन्छन्, ‘बजारमा तरलताको अवस्था हेरेर एक पटकमा बढीम ५० अर्ब र न्युनतम २० देखि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी हुन्छ।’

बजारमा कर्जाको माग नहुने तर निक्षेप निरन्तर बढ्दा अधिक तरलता बढ्दै गएपछि केन्द्रीय बैंकले निरन्तर तरलता प्रशोचन गरिरहेको छ । केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमार्फत अल्पकालीन र मध्यमकालीन अवधिका लागि निरन्तर तरलता प्रशोचन गरिरहेको हो ।

त्यसले पनि मौद्रिक नीति ‘लिक्विडिटी ट्याप’ मा परेर मौद्रिक औजारको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि केन्द्रीय बैंकले ‘राष्ट्र बैंक ऋणपत्र’ मार्फत दीर्घकालीन अवधिका लागि तरलता प्रशोचन गर्ने भएको छ ।

२ खर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत भएको हो । अब खुला बजार कारोबार समितिले स्वीकृत ऋणपत्र निकाष्सनको लागि निष्कासन तालिका तयार पार्नेछ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमै राष्ट्र बैंक ऋणपत्रमार्फत बजारमा अधिक तरलता भएको रकम प्रशोचन गर्ने घोषणा गरेको थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुनेगरी खुला बजार कारोबार सञ्चालन गर्ने घोषणा गरेको थियो ।

तर, आर्थिक वर्षको दोस्रो त्रैमास सकिन लाग्दा पनि उक्त लक्ष्य हासिल गर्न नसकेको देखिन्छ । खुला बजार कारोबारका औजारहरूमध्ये केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल प्रयोगमा ल्याएको छ । त्यसले संरचनागत प्रकृतिको तरलता व्यवस्थापन प्रभावकारी बनाउन सकेको देखिँदैन ।

गत असार अन्तिम साता चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर ६ प्रतिशत र करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरेको थियो । साथै नीतिगत दर ४.५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिको लक्ष्यअनुसार भारित औसत अन्तरबैंक दर पनि ४.५ प्रतिशतको आसपास हुनुपर्ने थियो ।

दशैं र तिहारको समयमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण बोलकबोल पनि नगर्दा २.७५ प्रतिशत हाराहारी रहेको भारित औसत अन्तरबैंक दर त्यसको करिब पनि रहन सकेन । पछिल्लो केही समययता भने फेरि भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशतको करिब रहेको देखिन्छ ।

तर, यसले पनि मौद्रिक नीतिको लक्ष्य कायम हुन नसकेको र अन्तरबैंक ब्याजदर निरन्तर घटेको तथा निक्षेपको ब्याजदर पनि निरन्तर घटेपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरेको घोषणा अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको थियो । यसका लागि राष्ट्र बैंकको सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने हुन्छ । सोही अनुसार बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त ऋणपत्र जारी गर्न स्वीकृत गरेको हो ।

बजारमा लगातार अधिक तरलता बढ्दै गएको छ । केन्द्रीय बैंकले पछिल्लो ३ आर्थिक वर्षदेखि नियमित रूपमा तरलता प्रशोचन गर्दै आएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा र सोही दरलाई कटअफ दर मानेर निक्षेप संकलन उपकरण बोलकबोल पनि गर्दै आएको छ । जसले गर्दा निरन्तर अधिक तरलता हुँदा पनि अन्तरबैंक ब्याजदर निक्षेप संकलन दर २.७५ प्रतिशतको वरिपरि मात्रै रहेको देखिन्छ ।

अब केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र जारी गरेर तरलता प्रशोचन सुरु गरेपछि भने भारित औसत अन्तरबैंक दरसमेत बढ्न सक्छ । त्यसले बैंकहरूले बचतको ब्याजदर समेत बढाउने र ब्याजदरमा थप गिरावटबाट रोकिने अवस्था आउन सक्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकको पुस ८ गतेको तथ्यांकअनुसार अधिक तरलता भएर बैंकहरूले राष्ट्र बैंकको निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत राष्ट्र बैंकमा जम्मा गरेको रकम ८ खर्ब ८० अर्ब १५ करोड रुपैयाँ थियो । ९ पुसमा उक्त रकम ५ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ छ ।