अहिलेको सरकारले रविमाथिको प्रतिशोधको शृङ्खलालाई पूर्णविराम लगाउने विश्वास छ: रास्वपा


काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि पार्टीले त्यसको स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले अदालतको आदेशप्रति सम्मान व्यक्त गरेको हो ।

पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ ।’

रास्वपाले आफ्ना सभापतिमाथि लगाइएका मुद्दाहरूलाई ‘झुटा’ र ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, यी मुद्दाहरू तत्कालीन ‘निरंकुश सरकार’ ले सुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खला थियो । वर्तमान ‘नागरिक सरकार’ ले आवश्यक कदम चालेर यो प्रतिशोधको शृङ्खलालाई पूर्णविराम लगाउने विश्वास समेत पार्टीले लिएको छ।

‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । साथै, सभापति लामिछानेको पक्षमा र न्यायको पक्षमा उभिने देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरू, पार्टी सदस्य तथा शुभेच्छुकहरूप्रति पार्टीले आभार प्रकट गरेको छ ।

लामिछाने आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी तत्कालै पार्टीको मूल जिम्मेवारीमा फर्किने पनि रास्वपाले स्पष्ट पारेको छ ।