
काठमाडौं । नेकपा (एमाले)ले महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नै विधान संशोधन गर्दै पार्टीको सांगठनिक संरचनामा हेरफेर गरेको छ ।
आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
यससँगै एमालेले गत असोजमा गोदावरीमा सम्पन्न विधान महाधिवेशनको निर्णयलाई उल्ट्याएको छ । विधान महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको भए पनि आइतबारको बैठकले कमिटीको आकार बढाएर ३०१ सदस्यीय पुर्याएको छ।
संशोधित विधानअनुसार अब एमालेमा १९ जना पदाधिकारी रहनेछन्। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार नयाँ संरचनामा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव रहने व्यवस्था गरिएको छ ।
त्यस्तै, पार्टीको स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ। केन्द्रीय कमिटीको कुल संख्या भने ३०१ कायम गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको थियो । तर, उक्त निर्णयप्रति नेताहरूले असन्तुष्टि समेत प्रकट गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्णय प्रक्रियाप्रति विमति जनाउँदै बैठकमा आफ्नो भनाइ राखेका थिए। त्यस्तै, नेता सुरेन्द्र पाण्डेले विधान संशोधन नै गर्ने भए ‘दुई कार्यकाल’ र ‘७० वर्षे उमेर हद’ को प्रावधान पनि हटाउनुपर्ने तर्क गरेका थिए ।
केन्द्रीय कमिटीबाट पारित यो प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि सोही अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढाइने एमालेले जनाएको छ ।







प्रतिक्रिया