पूर्वराजाको भान्जा भन्दै ४ करोड ठग्ने सिंह पक्राउ

280
Shares

काठमाडौं । पूर्वराजको भान्जा भन्दै अमेरिका र बेलायत पठाइदिने बाहनामा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

महाबज्रयोगिनी एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिका संचालक साथै आफूलाई पूर्वराजपरिवारको भान्जा बताउने ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह पक्राउ परेका हुन् ।

सिंहले बेरोजगार युवायुवतीहरुलाई बेलायतको म्यान्चेस्टर शहरमा सञ्चाचालित मिडल्यान्ड होटल सीटीबाट कामदार माग भई आएको भनी उक्त होटल र रोयल बिज्नेस टीम बीचको नक्कली रोजगार देखाउने गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

कार्यालयका अनुसार सिंहले सम्झौता पत्र, बेलायती दूतावास नक्कली पत्र, नक्कली भिषा, नक्कली हवाइ टिकट लगायतका कागजातहरु देखाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके लैजाने भन्दै लामो समयसम्म झुक्याइ रहेका थिए।

उनीविरुद्ध ४ करोडभन्दा बढी ठगेको आरोपमा उजुरी परेको छ ।

सिंहविरुद्धमा यसअघि अमेरिका र युके पठाइदिने भन्दै ठगी गरेको कसूरमा काठमाडौंमा ४, ललितपुरमा २ गरेर ६ र पूर्वराजपरिवारको सदस्य हुँ भन्दै धाकधम्की दिएको भनी प्रहरी वृत्त दरवारमार्गमा १ गरी जम्मा ७ वटा मुद्दा दर्ता रहेको देखिएको छ ।

त्यसैगरी, ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठसमेत पक्राउ परेका छन् । दोलखा मेलुङका हाल भक्तपुर थिमी ९ मा बसोबास गरिरहेका छन् ।।
सिंह समेतको समूहबाट युके र अमेरिका पठाइदिने भनि ठगीएका अन्य पीडितहरुले निजहरु विरुद्ध आवश्यक कानुनी कारवाहीका लागि आवश्यक कागजात सहित जाहेर दिन प्रहरीले अनुरोध गरेको छ ।