
एजेन्सी । भारतीय रुपैयाँ (भारु) बुधबार अमेरिकी डलरको तुलनामा ९० पुगेपछि ऐतिहासिक न्यूनतम विन्दुमा पुगेको छ ।
लगातार पाँच दिनदेखि घट्दो क्रममा रहेको रुपैयाँले पुँजी प्रवाहमा कमजोरी, आयातकर्ताहरूको निरन्तर माग र अमेरिका–भारत व्यापार सम्झौतामा देखिएको अनिश्चितताका कारण भारु ९०.१३ प्रति डलर पुगेको हो ।
यस दरले मंगलबारको सबैभन्दा कम ८९.९४७५ को रेकर्डलाई पनि ओझेल पारेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले नियमित रूपमा हस्तक्षेप गरिरहेकै पनि यो स्थिति आएको हो ।
रुपैयाँ ८८.८० भन्दा तल झर्दा बजारका लागि आवश्यक मनोवैज्ञानिक र प्राविधिक आडभरोसा नै हटेको एक निजी बैंकका मुद्रा व्यापारीले रोयटर्स समाचार संस्थालाई बताए । त्यो स्तर पार भएपछि पुँजी प्रवाहमा कमजोरी, आयातकर्ताको उच्च माग र बढ्दो सट्टेबाजी जस्ता दबाबहरूले रुपैयाँलाई अझ कमजोर बनाइरहेको उनले बताए ।
कोटक सिक्युरिटीजका कमोडिटी तथा करेन्सी प्रमुख अनिन्द्य बनर्जीका अनुसार, डलरको तुलनामा भारु ९० तिर धकेलिनुमा सट्टेबाजहरूको ‘सर्ट–कभरिङ’ र आयातकर्ताको निरन्तर माग प्रमुख कारण हो । उनले ९० लाई एक महत्त्वपूर्ण मनोवैज्ञानिक अवरोधका रूपमा वर्णन गर्दै यस वरिपरि धेरै ‘बाईस्टप’ अर्डरहरू रहेको बताए ।
‘त्यसैले आरबीआई ९० भन्दा तल सक्रिय रहनुपर्ने हुन्छ । डलरको तुलनामा भारु लामो समय ९० माथि बस्न थाल्यो भने यो ९१ वा अझै माथिको ट्रेन्डतर्फ तीव्र गतिमा जान सक्छ,’ बनर्जीले भने ।
बनर्जीले थप रूपमा एफपीआई बाहिरिने क्रम, व्यापक रूपमा एशियाली मुद्राहरूलाई कमजोर बनाइरहेको येन क्यारी–ट्रेड खुल्दै जानुका प्रारम्भिक संकेतहरूका साथै भारत–अमेरिका व्यापार सम्झौताबारे अनिश्चितताले रुपैयाँमा थप दबाब पारिरहेको बताए । प्राविधिक रूपमा दैनिक विनिमयदर ९० माथि जाँदा ‘मोमेन्टम ट्रेडर्स’ लाई उत्साहित बनाउँदै नयाँ सट्टेबाजी भित्र्याउन सक्ने उनको भनाइ छ ।
अमेरिकी डलर इन्डेक्स एसियाली बजारमा अलि कमजोर हुँदै ९९.२२ मा पुगेको छ किनभने बजारले केभिन ह्यासेट अर्को अमेरिकी फेडरल रिजर्भ चेयर हुन सक्ने अपेक्षालाई मूल्यमा समावेश गर्न थालेका छन् ।
एम्के ग्लोबलका अनुसार, चालु आर्थिक वर्षको बाँकी अवधिमा भारुले ८८–९१ को दायरामा कारोबार गर्न सक्नेछ र कमजोर हुने प्रवृत्ति कायम रहन सक्छ । वर्षको सुरुदेखि अहिलेसम्म रुपैयाँ ४.७ प्रतिशत कमजोर भएको छ जबकि एसियाली मुद्राहरू २.४ प्रतिशत बलियो भएका छन् ।
५० प्रतिशत अमेरिकी ट्यारिफले पनि भारतीय रुपैयाँलाई असमानुपातिक रूपमा असर गरेको एम्केले जनायो । ट्यारिफ घोषणा भएपछिदेखि एफपीआई प्रवाह कमजोर छ र आरबीआईले हालका हप्ताहरूमा हल्का मात्र हस्तक्षेप गरेको देखिएको छ ।
एम्केका अनुसार, अमेरिका–भारत तथा अमेरिका–अन्य देशहरूबीचका व्यापार सम्झौताको परिणाम, एसियाका व्यापार रणनीतिहरू र पोर्टफोलियो प्रवाहले आउने महिनामा दर निर्धारण गर्नेछन् । सम्झौता नभएसम्म रुपैयाँ कमजोर हुँदै जाने सम्भावना छ ।
रुपैयाँ कमजोर हुँदा भारतीय इक्विटी बजार पनि दबाबमा परेको छ । जियोजित इनभेस्टमेन्ट्सका मुख्य लगानी रणनीतिकार डा भीके विजयकुमारका अनुसार, निफ्टीको रेकर्ड उच्च बिन्दुबाट करिब ३०० अंकको गिरावट मौलिक कारणले नभई प्राविधिक कारणहरूले गर्दा आएको हो । बैंक निफ्टीको पुनःसंरचना र एचडीएफसी बैंक तथा आईसीआईसीआई बैंकको तौल घट्नु प्राविधिक कारण हुन् ।
‘रुपैयाँको लगातार अवमूल्यन र अझै कमजोर हुने डर वास्तविक चिन्ता हो किनभने आरबीआईले मुद्रा बचाउन हस्तक्षेप गरिरहेको देखिनुहुँदैन,’ उनले भने, ‘यही डरका कारण विदेशी लगानीकर्ताहरू बिक्री गरिरहेका छन्, यद्यपि कम्पनीहरूको कमाइ बढेको छ र कुल गार्हस्थ्य उत्पादन वृद्धि बलियो छ ।’
भारत–अमेरिका व्यापार सम्झौता सम्पन्न भएपछि रुपैयाँ घट्ने क्रम रोकिन सक्छ वा उल्टो बलियो समेत हुन सक्ने विजयकुमार बताउँछन् । यसै महिनामा त्यो सम्झौता हुने अपेक्षा छ । तर, भारतमाथि लागू हुने ट्यारिफहरूले कस्तो प्रभाव पार्छन् भन्ने निर्णायक हुनेछ ।
रुपैयाँ ९० माथि कारोबार भइरहेकाले निर्णायक हस्तक्षेप भएन भने ९१ सम्म छिट्टै धकेलिने जोखिम रहेको विश्लेषकहरू बताउँछन् । आयात लागत, मुद्रास्फीति, र एफपीआई प्रवाह सबै रुपैयाँको दिशासँग जोडिने भएकाले लगानीकर्ताले निगरानी गरिरहेका छन् ।







प्रतिक्रिया