हरेक फ्लाइट-‘माउन्टेन फ्लाइट’

आकाशमै हिमालसँग मौन संवाद !

203
Shares

नेपालमा हवाई यात्रा केवल गन्तव्य पुग्ने साधन होइन- यो आफूमा एउटा अनुभव, एउटा दर्शन, र हिमालसँग सानिध्य संवादसहितको नियात्रा हो ।

संसारका धेरै देशहरूमा हवाई जहाज उड्नु सामान्य दैनिक प्रक्रिया हो तर नेपालमा उड्ने प्रत्येक फ्लाइट, चाहे त्यो काठमाडौं–पोखरा होस्, जनकपुर–काठमाडौं होस्, धनगढी, विराटनगर वा नेपालगन्ज-मुगु नै किन नहोस्, यात्रुको हृदयमा एउटै भाव धड्किन्छ -‘यो त माउन्टेन फ्लाइट नै रहेछ ।’

नेपालजस्तो अनुपम भू–भाग, जहाँ ८ हजार मिटरभन्दा अग्ला १४ शिखर गर्वका साथ उभिएका छन्, जहाँ संसारको शिरजस्तै सगरमाथाले आकाश समातेको देखिन्छ ।

त्यही देशको आकाशमा उड्ने प्रत्येक जहाज यात्रुका लागि एक चलायमान दर्शक मञ्च बन्छ । विमानका झ्यालहरू हिमाल अवलोकनका लागि बनेको कुनै सिनेमा हलका झ्यालझैँ लाग्छन्- पर्दा बदलिँदै जान्छ, दृश्य फेरिँदै जान्छ, तर दन्तलहर फैलाएर मुस्कुराइरहेको हिमालको आकर्षण सकिँदैन । प्रत्येक झ्यालबाट देखिने दृश्यले आफ्नै भाषामा जिस्काउँछन् र यात्रुको मनमा अनन्त स्मृतिको छाप छाड्छन् ।

नेपालको हवाई इतिहास पनि उस्तै रोचक छ । चार सिटे बोनान्जा बिच एयरक्राफ्ट, २४ सिटे डकोटा, भारतीय नेसनल एयरवेज र हिमालयन एभिएसन लिमिटेड हुँदै नेपाल वायुसेवा निगमसम्म आइपुग्दा नेपालको व्यावसायिक हवाईयात्रा तरुणवयमा छ ।

उडानका रहर, उचाइका चुनौती र देशको भूगोलका कारण नेपालको आकाश, उचाइ र नियमन अन्य मुलुकजस्तो सहज भने पक्कै छैन । यो आफैंमा एक साहसिक यात्रा भन्दा पनि अस्वकाविक हुँदैन ।

काठमाडौंबाट धनगढी उडानका क्रममा देखिएको हिमशृङ्खला। फोटो: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी।

नेपालका हवाई मार्ग चार प्रकारका मानिन्छन्- कन्ट्रोल रुट, अन–कन्ट्रोल रुट, एडभाइजरी रुट र टर्मिनल रुट । ११, ५०० फिटभन्दा माथिको अवस्थामा कन्ट्रोल रुट, अनकन्ट्रोल रुटमा पाइलट आफ्नै भिजुअल फ्लाइट रुलमा निर्भर, एडभाइजरी रुटमा केही स्थानमा एटीसी सहायता र केही स्थानमा पाइलटको विवेक अनि उडान सुरु वा अवतरण चरणमा टर्मिनल रुट सक्रिय हुन्छ । तराईमा निश्चित रुट, पहाडमा पाइलटले आफैं बाटो बनाउनु- संसारमै दुर्लभ अभ्यास हो ।

उडान सहजताका लागि रुटहरुको पनि नामाकरण गरिएको छ । जसमा काठमाडौंबाट पोखरा, दाङ, नेपालगन्जतिर उडदा ह्विस्की ४१, भरतपुर–दाङमा ह्विस्की १७, भैरहवा–दाङमा ह्विस्की १९ जस्ता मार्गहरु तय गरिएका छन् । यात्रुका लागि यी नाम केवल ‘रुट’ हुन्; पाइलटका लागि भने यी रुट उचाइ र भौगोलिक चुनौतीसहित बाँचिने अनुभव हुन् ।

इन्स्ट्रुमेन्ट फ्लाइट रुलमा उड्दा १५,००० देखि २९,००० फिटबीच उड्नुपर्छ भने, पूर्वतर्फ उड्दा अड थाउजन्ड (१५, १७, १९ हजार फिट), पश्चिमतर्फ इभेन थाउजन्ड (१६, १८, २० हजार फिट) र भिएफआरमा २०,००० फिटसम्म उडान भर्ने गर्दछन् । उडान बीच एक हजार फिटको अनिवार्य आकाशे दूरी आवश्यक पर्छ । र सबैभन्दा रोचक, नेपालमा माउन्टेन फ्लाइट आईएफआरमा २५,००० फिट र भिएफआरमा २४,००० फिटभन्दा माथि उडाउन पाइँदैन ।

यात्रुका लागि भने यी सबै केवल प्राविधिक विषय हुन् । प्रविधिले कोल्टे फेरिरहँनदा नेपालमा विशेषगरी १९६० को दशकपछि अन्तर्राष्ट्रिय आरोहीहरूको आगमन वृद्धि हुन थाल्यो र हिमालको सौन्दर्य विश्व पर्यटनको केन्द्र बन्दै गयो । आज २०२५ मा, नेपाल आउने पर्यटकको आकर्षण सूचीमा ‘माउन्टेन फ्लाइट’ शीर्ष पाँच आकर्षणमध्ये पर्छ । एयरलाइन्सको तथ्यांक अनुसार, सगरमाथाको दृश्यावलोकनका लागि मात्र हरेक वर्ष २५–३० हजारले यात्रा गर्छन् । तर, मुलुकको अद्‌भूत सुन्दरता- नेपालका आन्तरिक यात्रुहरू प्रत्येक दिन, प्रत्येक फ्लाइटमा जानी-नजानी ‘माउन्टेन फ्लाइट’ नै गरिरहेका हुन्छन् ।

काठमाडौंबाट पोखरा हवाइ यात्रा गर्दा देखिएको हिम श्रृंखला । फोटो: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी।

काठमाडौंबाट उडान सुरु भएसँगै देखिने गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खला, पोखरा जाने क्रममा मुस्कानसहित उभिएको माछापुच्छ्रे, स्वागतका लागि उभिएझैँ देखिने अन्नपूर्ण, कञ्‍चन धौलागिरी, नेपालगन्ज वा सुर्खेत र धनगढीसम्मको उडानमा देखिने कान्जिरोवा साईपाल र अपिको मौन चमक- जसले यात्रालाई हिमालय पर्वतको दर्शनका लागि निस्किएको भक्तजस्तै महसुस गराउँछन् । यात्रुले टेबल ट्रे खोल्न नपाउँदै स्वर्गको ढोका उघारिएझैँ भव्य हिमश्रृङ्खलाहरू खुल्छन् ।

पाइलटहरुले आफ्नो अनुभूति साझा गर्दै भन्छन् – नेपालका हरेक उडान प्रकृतिसँगको भेटघाट हो । काठमाडौँबाट पोखरा जाँदै गर्दा माछापुच्छ्रेले जति पटक नयाँ रूप देखाउँछ, त्यति पटक यात्रुले ‘वाह’ भन्छन् । त्यो ‘वाह’ नै हाम्रो देशको ब्रान्ड हो । पहिलो पटक उड्ने बालकका लागि त्यो ‘हिमाल !’ भनेर चिच्याउने क्षण बन्छ भने घर फर्कँदै गर्ने महिलाका लागि त्यो आफन्तको सम्झना अनि ‘एभरेस्ट’ हेर्न निःशब्द बनेका विदेशी यात्रुका लागि त्यो जीवनकै चमत्कार बनिदिन्छ । सामान्यतया नेपालको आन्तरिक उडानहरुमा देखिने दृश्य- सुटुक्क मिलेकाजस्ता बादलहरू, जमिनबाट उठेर आकाश चुम्न अग्लिँदै गरेका हिमालहरू र हिमालसँग पीरती साट्न ओर्लिरहेको देखिने क्षितिज बीचको संवादले जिउ चंगा बनाउँछ । यात्रुहरूले कहिलेकाहीँ भन्छन्- नेपालमा जहाज चढ्नु भनेको ३० मिनेटको ‘हिमालय डकुमेन्ट्री’ हेर्ने जस्तै हो ।

काठमाडौंबाट पोखरा उडानका क्रममा देखिएको हिमशृङ्खला । फोटो: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी।”

विशेषगरी प्रातःकालीन उडानहरू- जेठको घाम चहकिलो हुँदा, मंसिर–पौषको चिसो पारदर्शी आकाशमा, फागुन–चैतको गुलाबी बादलको छेउबाट उड्दा- हिमालहरुले आफैँलाई नजिक्याएको जस्तो लाग्छ । अन्‍नपूर्णलाई चुमेर आएको लेकाली हावाले बादललाई जिस्काउँदै गरेको दृश्य देखेर यात्रुहरू हर्षित मुद्रामा तस्बिर खिच्दै, चियर्स गर्दै, आकाशसँग गफिदैं गरेका देखिन्छन् । हातमा क्यामेरा, मनमा उत्साह- यो दृश्यका कारण नै पोखरा उडानलाई पर्यटकले विश्‍वकै उत्कृष्ट दृश्यावलोकन फ्लाइटको रुपमा चर्चा गर्ने गर्दछन् । नेपालको आन्तरिक उडानहरुबाट केवल हिमाल मात्र हेर्ने होइन सँगै नदीहरूले इतिहास र सभ्यताका कथा बोकेर अविरल बगिरहेका देखिन्छन् । बाजुरा–डोल्पोतर्फ उड्दा सेती, कर्णाली र भेरी सुनौलो डोरीजस्तै चम्किन्छन् । हरियालीले ढाकेका पहाड, थुम्कोजस्तै देखिने बस्ती, टुक्रिएको मोतीजस्तै चम्किने तालहरुले यात्रुलाई जहाजको झ्यालबाट देख्ने ‘दृश्य कविता’को झल्को दिन्छ ।

नेपाली उडानहरूको अर्को विशेषता- हरेक उडानले सयौं कथाहरु बोकेका हुन्छन् । कुनै फ्लाइटले घर छोडेर परदेशिने युवाको कथा बोकेका हुन्छन् भने कुनैले पूरा गरेका सपनाको सन्दुक बोकेर घर फर्किरहेका हुन्छन् । कुनैमा उमेर ढल्किँदै गरेकी बुढी आमा हुन्छन् भने कुनैमा साहसिक पर्यटकहरू, कुनैमा सरकारी अधिकारी, कुनैमा पत्रकारहरू, केहीमा त पहिलोपटक विमान चढ्ने बालबालिका जो झ्यालबाट हिमाल देखेपछि चिच्याउँदै भन्छन्- ‘ए आमा, हिमाल !’

काठमाडौंबाट धनगढी उडानका क्रममा देखिएको हिमशृङ्खला। फोटो: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी।

केही यात्रुका लागि आकाशमा देखिने हिमालहरू घरको सम्झनाजस्तै हुन्छन् । कतिपयले पहिलोपटक सगरमाथा देख्दा भावुक हुन्छन् – यो केवल हिमालको सौन्दर्य होइन, मान्छेको मनमा अमिट छाप बनाएको नेपालको पहिचान हो । नेपाली उडान- जहाँ आकाश, बादल र हिमालय मिलेर यात्रुको निजी सिनेमा बनाउँछन् । नेपालको हरेक फ्लाइट, चाहे सेड्युल फ्लाइट होस् वा निर्धारित माउन्टेन फ्लाइट, दुवै विश्‍वव्यापी पर्यटक आकर्षणका लागि कुरिरहेको देखिन्छन् । नेपालमा हवाई यात्रा गर्नु भनेको आकाश र हिमालबीच लेखिएको एउटा जीवित कविता पढ्नु हो । यात्रुहरू भन्छन्—’म त गन्तव्य पुग्न भनेर चढेको, तर हिमाल देखेर मोहित भएँ ।’

नेपालका अधिकांश विमानस्थलहरू स्वयंमा नै ‘हिमालय भ्युपोइन्ट’ जस्तै छन् । लुक्ला, नाम्चे, मनाङ, जुम्ला, सिमकोट, पोखरा आदि । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने हरेक यात्रुलाई माछापुच्छ्रेले स्वागत गरिरहेको देखिन्छ । यही कारण, नेपालमा भित्रिने हरेक यात्रुको सामूहिक अनुभव हुन्छ- ‘नेपालमा हरेक फ्लाइट माउन्टेन फ्लाइट नै हो ।’ उडान छोटो होला, समय कम होला, यात्रुको उद्देश्य फरक–फरक होला- तर हिमालको उपस्थितिले सबै फ्लाइटलाई एउटै मालामा उनिदिन्छ; भव्यता, श्रद्धा, सौन्दर्य र स्मृतिको चहकिलो माला ।

नेपालको आकाशका हरेक उडानले एउटा महाकाव्य तयार हुन्छ । विमानका प्रत्येक झ्यालबाट अद्वितिय चित्रकलाको झल्को दिन्छ, प्रत्येक दृश्य जीवनभरका लागि सम्झनाको मोती बन्छ । यही कारण आज, भोलि र सदैव- नेपालमा जहाँ–जहाँ जहाज उड्छ, त्यहाँ–त्यहाँ यात्रुहरू मुस्कुराउँदै भन्छन्- ‘एस् एभ्री फ्लाइट इज् अ माउन्टेन फ्लाइट ।’

(लेखक कार्की नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट हुन् ।)