
एजेन्सी । विवाह पञ्चमीको अवसरमा भारतको अयोध्यामा केसरी रंगको झण्डा अर्थात् ध्वज लहराइएको विषयमा पाकिस्तानले आपत्ति जनाएपछि भारतले त्यसको जवाफ फर्काएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरमा झण्डा फहराएको बारे पाकिस्तानले गरेको टिप्पणीलाई अस्वीकार गर्दै इस्लामाबादसँग यस विषयमा बोल्ने नैतिक हैसियत नरहेको भारतले बतायो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जायसवालले यी टिप्पणीहरूलाई तिरस्कारसहित खारेज गरेको बताए ।
मंगलबार मोदीले मन्दिरमा केशरी झण्डा फहराएका थिए । त्यसले मन्दिर निर्माण सम्पन्न भएको संकेत गर्छ ।
त्यही दिन पाकिस्तानले यस घटनालाई गहिरो चिन्ताका साथ नोट गरेको बतायो । यो संरचना बाबरी मस्जिद रहेको स्थानमै बनाइएको भनी उसले दाबी गर्यो ।
बाबरी मस्जिद सन् १९९२ मा हिन्दूवादीहरूले भत्काएका थिए । त्यही ठाउँमा भगवान् रामको जन्म भएको हिन्दूहरूको विश्वास छ ।
सन् २०१९ मा सर्वोच्च अदालतले बाबरी मस्जिद भत्काउनु अवैध भएको ठहर गर्यो । तर, जमिन राम मन्दिर निर्माणका लागि एउटा ट्रस्टलाई दिने निर्णय दियो । त्यससँगै अदालतले मुस्लिम समुदायका लागि अयोध्यामा पाँच एकड जग्गा मस्जिद निर्माणका लागि दिन निर्देशन दिएको छ ।
सन् २०२४ जनवरीमा मोदीले राम मन्दिरको उद्घाटन गरेका थिए ।
यो घटना बहुसंख्यकवादी हिन्दूत्व विचारधाराको प्रभावमा मुस्लिम सांस्कृतिक तथा धार्मिक सम्पदा मेटाउने योजनाबद्ध प्रयासको प्रतिफल भएको पाकिस्तानले दाबी गर्यो ।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नयाँ दिल्लीलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै सबै धार्मिक समुदायहरूको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वअनुसार उनका पूजास्थलहरूको रक्षा गर्न आग्रह गरिरहेको बतायो ।
बुधबार सो विज्ञप्तिको जवाफमा जायसवालले पाकिस्तान कट्टरता, दमन र उसको देशमा अल्पसंख्यकहरूमाथिको दुर्व्यवहारको घृणित इतिहासका कारण अरूलाई उपदेश दिन योग्य नरहेको बताए ।
‘पाखण्डी उपदेश दिनुको साटो पाकिस्तानले आफ्नै भयानक मानवअधिकार दुरवस्थातिर ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ,’ उनले थपे ।








प्रतिक्रिया