
एजेन्सी । अमेरिकाको राजधानी वाशिङटन डीसीमा ह्वाइट हाउस नजिक वेस्ट भर्जिनिया नेशनल गार्डका दुई सदस्यलाई गोली हानेर गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएको छ ।
हत्याको आरोपमा पक्राउ परेका २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लकनवाल पहिले अफगानिस्तानमा अमेरिकी सेनासँगै काम गर्ने सैनिक रहेको बताइएको छ ।
अफगानिस्तानको तालिबान सरकारका स्रोतहरूका अनुसार, लकनवाल विगतमा ०१ युनिटमा कार्यरत थिए । यो त्यही युनिट हो जसलाई अमेरिकी गोप्य निकायहरूले गठन गरेर तालिम तथा उपकरण उपलब्ध गराएका थिए ।
स्रोतहरूका अनुसार, उक्त इकाइका धेरै सदस्य अहिले मानसिक समस्या बेहोरिरहेका छन् । त्यसकारण कहिलेकाहीँ कतिपयले आत्महत्यासम्म गरेका छन् भने अन्य कतिपयले व्यक्तिहरूमाथि आक्रमण समेत गरेका छन् ।
न्युयोर्क पोस्टका अनुसार लकनवालले दुईजना नेशनल गार्ड सदस्यलाई गम्भीर रूपमा घाइते बनाएका थिए । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भइरहँदा उनी अमेरिका पुगेका थिए ।
उनी बुधबार दिउँसो करिब २ः१५ बजे फ्यारागट वेस्ट मेट्रो स्टेशनको कुनामा पर्खेर बसेका थिए र महिला गार्डलाई छातीमा पहिलो गोली हानेका थिए । त्यसपछि उनले टाउकोमा फायर गरे ।
उनी त्यसपछि दोस्रो गार्डलाई गोली हान्न थाले । नजिकै रहेका तेस्रो गार्डले आएर उनलाई नियन्त्रणमा लिए । दुवै घाइते गार्डलाई अस्पताल पु¥याइएको छ र उनीहरूको अवस्था गम्भीर छ ।
लकनवाल अपरेशन एलाइज वेलकम अन्तर्गत अमेरिका प्रवेश गरेका थिए र वाशिङटन राज्यको बेलिङह्याममा उनलाई बसोबास गराइएको थियो । यस कार्यक्रममार्फत करिब ७६ हजार अफगानहरूलाई अमेरिका ल्याइएको छ । तीमध्ये धेरैजसोले अमेरिकी सेनाका अनुवादक वा सहायकका रूपमा काम गरेका थिए ।
तर यस कार्यक्रमको द्रुत गतिको भर्ना प्रक्रिया र अपर्याप्त सुरक्षा जाँचलाई राष्ट्रपति डोनल्ड ट्रम्प, रिपब्लिकन सांसदहरू तथा निगरानी निकायहरूले आलोचना गर्दै आएका छन् । समर्थकहरूले भने यस कार्यक्रमबाट तालिबानको प्रतिशोधको जोखिममा रहेका धेरैजनाको जीवन जोगिएको बताएका छन् ।
फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनले यस घटनालाई आतंकवादी आक्रमणका रूपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार, उनी एक्लैले हमला गरेका हुन् र आक्रमणको उद्देश्य खुलाइएको छैन ।
वाशिङटनकी मेयर म्युरियल बाउजरले यस घटनालाई लक्षित गोलीकाण्ड भनेकी छन् ।
युद्ध सचिव पिट हेगसेथले वाशिङटनमा थप ५०० सैनिक पठाउने आदेश दिएको घोषणा गरे ।
एफबीआई निर्देशक काश पटेलले यो संघीय कानून कार्यान्वयन अधिकारीमाथिको आक्रमण भएकाल मुद्दा संघीय स्तरमै चलाइने पत्रकारहरूलाई बताए ।
केही महिनादेखि राष्ट्रपति ट्रम्पको सार्वजनिक सुरक्षा अभियान अन्तर्गत धेरै राज्यहरूले नेशनल गार्डहरू वाशिङटन पठाएका छन् । यो अभियान अहिले अन्य ठूला शहरहरूमा पनि फैलिएको छ ।
अहिले वाशिङटनमा करिब २४ सय नेशनल गार्ड तैनाथ छन् । तिनमा ९५८ जना डीसी नेशनल गार्ड र बाँकी १३ सयजना अन्य आठ राज्यबाट आएका छन् । तैनाथ अवधि सन् २०२६ को गर्मी यामसम्मका लागि बढाइएको छ ।










प्रतिक्रिया