
एजेन्सी । पाकिस्तानले सोमबार राति अफगानिस्तानभित्र हवाई आक्रमण गरेको छ ।
त्यसमा कम्तीमा १० जना नागरिक मारिएको तालिबान प्रशासनले जनाएको छ । मृतकमध्ये ९ जना बालबालिका छन् ।
तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार, ती आक्रमणहरूले खोस्त प्रान्तमा रहेको एक आवासीय घरलाई लक्षित गरेका थिए । त्यसमा पाँच केटा, चार केटी र एक महिलाको मृत्यु भयो ।
मुजाहिदले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखे, ‘हिजो राति करिब १२ बजे पाकिस्तानी आक्रमणकारी सेनाले खोस्त प्रान्तको गरबज जिल्लाको मुगलगै क्षेत्रमा स्थानीय बासिन्दा काजी मिरका छोरा बिलायत खानको घरमा बमबारी गरेको छ ।
त्यसको परिणामस्वरूप ९ बालबालिका (५ बालक र ४ बालिका) र एक महिला शहीद भएका छन् । उनीहरूको घर नष्ट भएको छ ।’
कुनर र पक्टिका प्रान्तका सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणका कारण चार अन्य नागरिक घाइते भएको उनले थपे ।
यो कदम पाकिस्तानले आफ्नै देशभित्र नयाँ सुरक्षा संकटको सामना गरिरहेकै केही घण्टापछि आएको हो । पेशावरको क्यान्टोनमेन्ट क्षेत्र नजिक रहेको फ्रन्टियर कन्स्टेबुलरी मुख्यालयमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए ।
रोयटर्सले प्रहरी र सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै लेखे अनुसार, दुई आत्मघाती आक्रमणकारी घटनामा सहभागी थिए । पहिलो आक्रमणकारीले गेटमा विस्फोट गरायो र दोस्रो व्यक्ति परिसरभित्र प्रवेश ग¥यो ।
कम्तीमा तीनजनाको मृत्यु भएको बताइएको छ र थप आक्रमणकारीहरू भित्रै भएको आशंकाले सुरक्षाबलहरूले वरपरका सडक बन्द गरेर खोजी जारी राखेका छन् ।
अधिकारीहरूका अनुसार, सेना र प्रहरीले संयुक्त रूपमा प्रतिकारवाहीको संयोजन गरिरहेका छन् जबकि नजिकका बासिन्दाहरूले रातभरि गोली चलाएको र विस्फोटको आवाज सुनेको बताए ।
पाकिस्तानको आन्तरिक सुरक्षाबारे चिन्ता बढिरहेकोमा सीमापार आक्रमणले समस्या झन् बल्झाएको छ । विशेषगरी काबुलसँगको सम्बन्ध पछिल्ला वर्षहरूमा सबैभन्दा तनावपूर्ण बनेको बेलामा आक्रमण भएको हो ।
यसअघि, यसै महिना इस्लामाबादमा भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानका सत्तारूढ तालिबानसँग वैचारिक सम्बन्ध राख्ने पाकिस्तान तालिबान (टीटीपी) ले त्यसको जिम्मा लिएको थियो ।
इस्लामाबादमा बम विस्फोटमा संलग्न लडाकूहरूलाई चरण चरणमा गरी अफगानिस्तानपारि रहेको नेतृत्वले निर्देशन दिएको इस्लामाबादले पछि आरोप लगायो ।
दुवै देशबीच सीमा तनाव कम गर्न खोजिएको वार्ताका धेरै चरण गत महिनामा असफल भएर टुटेपछि यो हिंसात्मक श्रृंखला चलेको हो ।
इस्लामाबादसँग घट्दो व्यापार र कूटनीतिक सम्बन्धको विकल्पका रूपमा अफगानिस्तानका वाणिज्य तथा उद्योगमन्त्री अलहाज नुरुद्दीन अजीजीले भारत भ्रमणपछि नयाँदिल्ली र काबुलको आर्थिक सम्बन्ध पुनः सक्रिय हुन सक्ने संकेत दिएका छन् । सन् २०२१ मा तालिबान सत्तामा आएयता यो प्रक्रिया ठप्प थियो ।








प्रतिक्रिया