अस्ट्रेलियामा बुर्कामाथि प्रतिबन्ध लगाउन दक्षिणपन्थी सांसदको पहल


एजेन्सी । अस्ट्रेलियाकी उग्रदक्षिणपन्थी सिनेटर पलिन ह्यान्सनले सोमबार संसदमा बुर्का लगाएर प्रवेश गरेकी छन् ।

सार्वजनिक स्थानमा मुस्लिम पहिरन बुर्कामाथि प्रतिबन्ध लगाउने आफ्नो प्रयासलाई अगाडि बढाउन राजनीतिक प्रदर्शनका रूपमा उनले त्यसो गरेकी थिइन् । यस कार्यपछि मुस्लिम सिनेटरहरूले उनीमाथि जातिवादको आरोप लगाएका छन् ।

ह्यान्सनले सार्वजनिक ठाउँमा बुर्का तथा पूर्णरूपमा मुख छोप्ने अन्य पहिरनहरूलाई निषेध गर्ने विधेयक प्रस्तुत गर्न अनुमति नपाएपछि विरोधका रूपमा संसदमा बुर्का लगाएकी हुन् । यो बुर्का सार्वजनिक रूपमा लगाउन प्रतिबन्ध लगाउने प्रयासमा संसद्भित्र उनले गरेको दोस्रो प्रदर्शन हो ।

उनी बुर्का लगाएर सदनमा प्रवेश गर्दा सिनेटमा आक्रोश फैलिएको थियो । उनले बुर्का उतार्न अस्वीकार गरेपछि संसदीय प्रक्रिया रोकियो ।

‘यी जातिवादी सिनेटर हुन् जसले खुला रूपमा जातिवाद प्रदर्शन गरिरहेकी छन्,’ न्यु साउथ वेल्स राज्यकी ग्रीन्स सिनेटर तथा मुस्लिम मेहरीन फारुकीले भनिन् । पश्चिमी अस्ट्रेलियाकी स्वतन्त्र सिनेटर तथा मुस्लिम फातिमा पेमनले यस कार्यलाई लाजमर्दो भन्दै आलोचना गरिन् ।

अस्ट्रेलियाको सेन्टर लेफ्ट लेबर सरकारकी सिनेट नेत्री पेनी वोङ र विपक्षी गठबन्धनकी सिनेट उपनेत्री एन रसटन दुवैले ह्यान्सनको कार्यलाई निन्दा गरे । वोङले यसलाई अस्ट्रेलियाली सिनेटकी सदस्यले गर्न योग्य नभएको व्यवहार भन्दै ह्यान्सनलाई निलम्बन गर्ने प्रस्ताव राखिन् । ह्यान्सनले सदन छोड्न अस्वीकार गरेपछि सिनेटको कारवाही स्थगित गरियो ।

क्वीन्सल्यान्डकी सिनेटर ह्यान्सन सन् १९९० को दशकमा एसियाबाट हुने आप्रवासन र शरणार्थी प्रवाहको कडा विरोधका कारण प्रसिद्धिउन्मुख भइन् र आफ्नो राजनीतिक जीवनभरि इस्लामिक पहिरनविरुद्ध अभियान चलाउँदै आएकी छन् । उनले सन् २०१७ मा पनि संसदमा बुर्का लगाएकी थिइन् । त्यतिबेला पनि राष्ट्रिय प्रतिबन्धको माग गर्दै उनले त्यस्तो काम गरेकी थिइन् ।
ह्यान्सनको वन नेशन पार्टीले सिनेटमा चार सिट जितेको छ । गत मे महिनाको आमनिर्वाचनमा उग्रदक्षिणपन्थी आप्रवासन–विरोधी नीतिहरू प्रति बढ्दो समर्थनका कारण दुई नयाँ सिट थपिएको हो ।

फेसबुकमा पछि प्रकाशित एक विज्ञप्तिमा ह्यान्सनले आफ्नो कार्यको प्रतिरक्षा गरिन् । सिनेटले प्रस्तावित विधेयक अस्वीकृत गरेकामा विरोधस्वरूप यो काम गरेको उनले बताइन् ।

‘संसद्ले यसलाई प्रतिबन्ध लगाउन चाहँदैन भने म स्वयं यो दमनकारी, उग्र, अधार्मिक, राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने तथा महिलामाथि दुर्व्यवहार बढाउने पहिरन सदनमा प्रदर्शन गर्नेछु ताकि हरेक अस्ट्रेलियालीलाई के दाउमा छ भन्ने थाहा होस्,’ ह्यान्सनले लेखिन् । ‘उनीहरू मैले यो लगाएको हेर्न चाहँदैनन् भने बुर्कामाथि नै प्रतिबन्ध लगाऊन् ।’