
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई सचिवालयमा नियुक्त गरेको भन्दै चर्को आलोचना भइरहँदा कार्कीका प्रेस संयोजक रामबहादुर रावलले त्यसको खण्डन गरेका छन् । प्रकाशित समाचारहरुमा लगाइएको आरोप असत्य र तथ्यहीन भएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सचिवालयका अनुसार प्रमुख स्वकीय सचिव श्रेष्ठमाथि नियोजित रूपमा लाञ्छना लगाइएको र थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदारीको भ्रम फैलाइएको छ।
प्रेस संयोजक रावलले सोमबार जारी गरेको विज्ञप्तिमा सुरक्षा र कार्यसूचीका कारण प्रधानमन्त्रीसँग चौबीसै घण्टा नजिक रहनुपर्ने भएकाले विश्वासिलो, भरपर्दो र निरन्तर खटिने व्यक्तिहरूको कानुनी प्रक्रिया अनुसार नियुक्ति गरिएको र त्यसलाई अन्यथा व्याख्या नगर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अन्य नियुक्तिहरूमा पनि प्रमुख स्वकीय सचिवलाई अनावश्यक रूपमा जोडेर प्रचार गरिएको छ, जसमा कतै थर मिलेको, कतै जातीय पृष्ठभूमि मिलेको जस्ता आधारमा नातेदारीको भ्रम सिर्जना गरिएको देखिन्छ। त्यसो नगरिदिन अनुरोध गर्दछौँ।’
जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री बनेकी कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताको सिद्धान्तअनुसार जिम्मेवार ढंगले कार्य गर्दै आएको सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयका अनुसार राज्य कोषमा कम भार पर्नेसोचसहित सीमित जनशक्तिबाट सचिवालय सञ्चालित छ।
कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सकिने भए पनि अहिले २ जनामात्र छन् । १९ जना विज्ञ कर्मचारी राख्न सकिने व्यवस्था भए पनि ४ जनालाई मात्र जिम्मेवारी दिइएको छ, जस मध्ये एक अवैतनिक छन् । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत छन्।
विज्ञप्तिमा भनिएको छ, ‘कुल ६७ दरबन्दीमध्ये विगतका सरकारले अधिकांश पद पूर्ति गर्दै आएको अवस्थामा हाल प्रधानमन्त्री कार्कीले अत्यन्त जरुरी कार्यका लागि मात्र २० जनाको सानो टोली बनाएर सचिवालय सञ्चालन गर्नुभएको छ।’







प्रतिक्रिया