चेक गणतन्त्रमा कम्युनिस्ट विचारधारा फैलाउन प्रतिबन्ध लगाउने कानून पारित, नयाँ वर्षबाट लागू हुने


Image: Dominic Gwinn/ZUMA/picture alliance

एजेन्सी । युरोपेली मुलुक चेक गणतन्त्रमा कम्युनिस्ट विचारधाराको प्रचारप्रसार गर्न नपाइने भएको छ ।

गत जुलाई महिनाको अन्त्यतिर राष्ट्रपति पेत्र पाभेलले फौजदारी संहितामा संशोधन गर्दै कम्युनिस्ट विचारधाराको प्रचारप्रसारलाई अपराध बनाएका छन् । कम्युनिस्ट प्रचारप्रसारलाई नाजी विचारधाराकै समान स्तरको अपराध मानिनेछ । यो संशोधन सन् २०२६ जनवरी १ बाट लागू हुनेछ ।

कम्युनिजमका कट्टर विरोधीहरूका लागि यो एकदमै लामो कथाको सुखद अन्त्य हो । सन् १९८९ मा सुरु भएको भेल्भेट क्रान्तिपछि कम्युनिस्ट शासनको अन्त्य भएयता कम्युनिजमविरोधीहरूले कम्युनिस्टहरूलाई जर्मन नाजीहरूको जस्तै व्यवहार गर्नुपर्ने माग गर्दै आएका थिए । ३५ वर्षभन्दा बढी समय बितेपछि उनीहरूको त्यो माग पूरा भएको छ ।

यो कानून संशोधनको पहल भेल्भेट क्रान्तिका विद्यार्थी नेता तथा पछि सिनेटर बनेका मार्टिन मेज्स्ट्रिकले गरेका थिए । यस पहललाई चेक इन्स्टिच्युट फर द स्टडी अफ टोटालिटेरियन रेजिम्सका इतिहासकारहरूले पनि साथ दिएका थिए ।

यसै वर्षको वसन्तमा तत्कालीन प्रधानमन्त्री पेत्र फियालाको युरोपसमर्थक गठबन्धन सरकारको समर्थनमा संसदबाट यो संशोधन पारित भएको थियो र राष्ट्रपति पाभेलले जुलाईमा त्यसमा हस्ताक्षर गरेका थिए ।

फौजदारी संहिताको दफा ४०३ मा भएको संशोधनअनुसार अब मानवअधिकार र स्वतन्त्रताको दमन गर्ने वा जातीय, राष्ट्रिय, धार्मिक वा वर्गीय घृणा भड्काउने गरी नाजी, कम्युनिस्ट वा अन्य कुनै पनि त्यस्ता आन्दोलनलाई स्थापना गर्ने, समर्थन गर्ने वा प्रचार गर्ने व्यक्तिलाई १ देखि ५ वर्षसम्म कैद सजाय हुनेछ ।

विडम्बनाको कुरा, चेक गणतन्त्र युरोपेली संघका ती थोरै देशमध्ये पर्छ जहाँ कम्युनिस्ट पार्टी अझै तुलनात्मक रूपमा सफल छ । बोहेमिया र मोराभियाको कम्युनिस्ट पार्टी सन् १९९० मा गठन भएको हो । चार वर्षअघिको संसदीय चुनावसम्म यसका सांसद निर्वाचित भएका थिए र केही उपप्रधानमन्त्री पनि कम्युनिस्ट थिए ।

केएससीएम चेकोस्लोभाकियाको कम्युनिस्ट पार्टीको उत्तराधिकारी हो जसले १९८९ सम्म माक्र्सवादी–लेनिनवादी विचारधाराका साथ तानाशाही शासन चलाएको थियो । केएससीएमसँग अहिले पनि दशौं हजार सदस्य छन् । सन् २०२४ को युरोपेली संसदीय चुनावमा वामपन्थी गठबन्धन ‘स्टाचिलो !’ मा जोडिए बनेर त्यसले सिट जितेको थियो ।

नयाँ संशोधनले केएससीएमलाई प्रतिबन्ध लगाउने बाटो पनि खोलिदिएको छ । सन् २०१० मा चरम दक्षिणपन्थी तथा नवनाजी वर्कर्स पार्टीमाथि यस्तै प्रतिबन्ध लगाइएको थियो ।

केएससीएम नेत्री कातेरिना कोनेच्नाले यस संशोधनलाई राजनीतिक आक्रमणको संज्ञा दिएकी छन् । यस कानूनमा हस्ताक्षर गर्ने राष्ट्रपति पाभेल आफैं सन् १९८९ अघि कम्युनिस्ट पार्टीका सदस्य भएको उनले उल्लेख गरिन् । पाभेलले पछि त्यो समयमा लिएको निर्णय गर्वको विषय नभएको बताए ।