लक्ष्यको ७७ प्रतिशत मात्रै राजस्व संकलन, कात्तिकसम्ममा उठ्यो ३ खर्ब २९ अर्ब


काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व संकलन सरकारको लक्ष्यभन्दा १७ प्रतिशतले कम हो ।

सरकारले यो वर्ष कात्तिकसम्ममा ४ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसमध्ये ७७.४९ प्रतिशत मात्रै संलकन भएको आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेको चालु आव २०८२/८३ को राजस्व संकलनको विवरणले देखाएको छ ।

सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यसमध्ये कात्तिकसम्मको लक्ष्य ४ खर्ब २५ अर्ब रुपैयाँ हो ।

कात्तिकमा मात्रै सरकारले ७८ अर्ब ३३ करोड रुपैयाा संकलन गरको छ । यो कात्तिक महिनाको लक्ष्यको ७५.४९ प्रतिशत हो ।
कात्तिक मसान्तको एक दिनमा मात्रै ३ अर्ब ६८ करोड संकलन भएको आन्तरिक राजस्व कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यस्तो राजस्व संकलन गत वर्ष २०८१/८२ को कात्तिकमा ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ संकलन भएको थियो । गत वर्ष कात्तिक महिनाको मात्रै संकलन ७६ अर्ब रुपैयाँ थियो । सरकारको गत वर्ष राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा कात्तिकसम्मको मात्रै ४ खर्ब ६ अर्ब रुपैयाँ थियो ।

यो तथ्यांक अनुसार चालु आवमा गत वर्षको कात्तिकसम्मको तुलनामा राजस्व संकलन जम्मा ४९ करोड रुपैयाँले बढेको छ । गत वर्ष कात्तिकसम्ममा ३ खर्ब २९ अर्ब २ करोड रहको यस्तो राजस्व संकलन यो वर्ष ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ पुग्नुले जम्मा ०.१४ प्रतिशतले मात्रै राजस्व संलकन बढेको देखिएको छ ।