
एजेन्सी । बंगलादेशमा इन्टरनेशनल क्राइम्स ट्राइब्युनल–१ ले निवर्तमान प्रधानमन्त्री शेख हसिना र उनका दुई शीर्ष सहयोगीविरुद्ध चलिरहेको मानवताविरुद्धको अपराधको मुद्दामा सोमबार फैसला सुनाउन लागेको छ ।
पूर्व गृहमन्त्री असादुज्जमान खान कमाल र पूर्व प्रहरीले महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुनलाई पनि गत वर्षको जुलाई विद्रोहका बेला अपराध गरेको आरोप लागेको छ ।
ट्राइब्युनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मुर्तुजा मोजुम्दारले कडा सुरक्षाबीच फैसला सुनाउनेछन् ।
यो मुद्दाको सुनुवाइ अक्टोबर २३ मा सकिएको थियो ।
तीनैजना अभियुक्तहरूविरुद्ध लगाइएका पाँच आरोपको सूची यसप्रकार छ :
आरोप १
अभियुक्तहरूलाई हत्या, ज्यान मार्ने उद्योग, यातना र अन्य अमानवीय कार्य गरेको आरोप छ । उनीहरूमाथि प्रहरी र सत्तारूढ अवामी लीग तथा उसका समूहका सशस्त्र कार्यकर्ताहरूले नागरिकमाथि गरेका अपराधलाई उक्साएको, सहयोग गरेको, साथ दिएको र रोक्न असफल भएको आरोप लगाइएको छ ।
हसिनाले जुलाई १४ मा गरेको प्रेस ब्रिफिङपछि पूर्व गृहमन्त्री असादुज्जमान, पूर्व आईजीपी मामुन र तत्कालीन सरकारका अन्य उच्च अधिकारीहरूले निःशस्त्र विद्यार्थीहरूलाई गरिएको ठूलो र योजनाबद्ध हमलामा साथ र सहयोग गरेको आरोप छ ।
आरोप २
हसिनालाई हेलिकप्टर, ड्रोन र घातक हतियार प्रयोग गरेर विद्यार्थी प्रदर्शनकारीहरूको सफाया गर्न आदेश दिएको आरोप छ । अभियोजन पक्षले तत्कालीन गृहमन्त्री र आईजीपीले आफ्नो मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएर यो आदेश कार्यान्वयन गर्न सहयोग गरेको दाबी गरेको छ ।
यसमा अभियुक्तहरूलाई जानाजान मानवताविरुद्ध अपराध गर्न आदेश दिएको, सहयोग गरेको, साथ दिएको र षड्यन्त्र गरेको आरोप छ ।
आरोप ३
रंगपुरस्थित बेगम रोकेया विश्वविद्यालय नजिक प्रदर्शनकारी विद्यार्थी अबु सैयदको हत्या गरेको आरोप लगाइएको छ ।
हसिनालाई उक्साहटपूर्ण बयान दिएको र विद्यार्थीमाथि घातक हतियार प्रयोग गर्न आदेश दिएको भनिएको छ । यस आदेशपछि असादुज्जमान र मामुन लगायत तत्कालीन उच्च अधिकारीहरूले आफ्ना मातहतका सुरक्षाकर्मी र अवामी लीगका कार्यकर्तालाई उक्साएको, सहयोग गरेको र साथ दिएको आरोप छ ।
गत वर्ष जुलाई १६ मा निःशस्त्र विद्यार्थीहरूमाथि गरिएको व्यापक हमलाको बदला लिँदै अबु सैयदलाई नजिकबाट थुप्रै गोली हानेर मारिएको थियो ।
अभियोजन पक्षका अनुसार, अभियुक्तहरूले आदेश, उक्साहट, सहयोग, साथ, सजिलो बनाउने काम र षड्यन्त्र गरेर मानवताविरुद्ध अपराध गरेका छन् ।
आरोप ४
अभियुक्तहरूले गत वर्ष अगस्त ५ मा ढाकाको चंखारपुलमा ६ जना निःशस्त्र प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको आरोप छ ।
हसिनालाई उक्साहटपूर्ण बयान दिएको र विद्यार्थीमाथि घातक हतियार प्रयोग गर्न आदेश दिएको भनिएको छ । त्यसपछि तत्कालीन गृहमन्त्री, आईजीपी र अन्य उच्च अधिकारीहरूले आफ्ना मातहतका सुरक्षाकर्मी र अवामी लीगका कार्यकर्तालाई उक्साएको, सहयोग गरेको र साथ दिएको आरोप छ ।
अभियोजनले चंखारपुलमा गरिएका यी हत्या जानाजान अभियुक्तहरूको आदेश र उक्साहटमा भएको भन्दै यो मानवताविरुद्ध अपराध परेको दाबी गरेको छ ।
आरोप ५
अभियुक्तहरूले अगस्त ५ मा आशुलियामा ६ जना विद्यार्थी प्रदर्शनकारीलाई गोली हानेको आरोप छ । तीमध्ये पाँचजनालाई मृत्युपछि जलाइएको थियो र एकजनालाई जीवितै जलाइएको थियो ।
हसिनालाई उक्साहटपूर्ण बयान दिएको र विद्यार्थीमाथि घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । त्यसपछि अभियुक्त तथा तत्कालीन अन्य उच्च अधिकारीहरूले आफ्ना मातहतका सुरक्षाकर्मी र अवामी लीगका हतियारधारी कार्यकर्तालाई उक्साएको, साथ दिएको र सजिलो बनाइदिएको दाबी गरिएको छ ।
अभियोजन पक्षका अनुसार, यो कार्य योजनाबद्ध रूपमा आदेश, उक्साहट, सहयोग, साथ, सजिलो बनाउने र षड्यन्त्र अन्तर्गत गरिएको मानवताविरुद्ध अपराध हो जसमा यातना र हत्या जस्ता अन्य अमानवीय कार्य पनि पर्छन् ।
हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग अभियोजन पक्षले गरेको छ ।
फैसला आउनुअघि हसिनाका समर्थकहरुले बंगलादेशका विभिन्न भागमा आगजनी र तोडफोड गरिरहेका छन् ।








प्रतिक्रिया