वाणिज्य बैंकहरूले मंसिरका लागि पनि घटाए ब्याजदर

273
Shares

काठमाडौं । बैंकहरूले मंसिरमा निक्षेपको ब्याजदर थप घटाएका छन् । वाणिज्य बैंकहरूले मंसिरका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२६ प्रतिशत बिन्दुले घटेको हो ।

कात्तिकमा औसतमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.२६ प्रतिशतले घटेकामा मंसिरमा अझै घटेको हो । २० मध्ये १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकीले यथावत राखेका हुन् । वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत नै ५.०३ प्रतिशतमा सीमित भएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पछि निजी क्षेत्रको मनोबल झनै कमजोर भएको छ । जसले गर्दा ३ वर्षदेखि अर्थतन्त्रमा देखिएको सिथिलता विस्तारै सुधार हुने अपेक्षा गरिएकामा तत्कालका लागि मनोबल कमजोर भएकाले उत्साह नदेखिँदा बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएका हुन् ।

निक्षेप लगातार बढेको तर कर्जाको माग नबढेको र तत्काल बढ्ने अवस्था नदेखिएपछि बैंकहरुले कात्तिकको लागि प्रकाशन गरेको ब्याजदर थप घटाएका हुन् ।

बैंकहरुसँग साढे ११ खर्बभन्दा बढी लगानीयोग्य स्रोत छ भने करिब साढे ८ खर्ब रुपैयाँ अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको अवस्था छ ।

चालु आर्थिक वर्षम मौद्रिक नीतिले अपेक्षा गरेअनुसार कर्जा विस्तार भए पनि करिब ६ खर्बमात्रै कर्जा विस्तार हुन सक्छ । तर, त्यसभन्दा बढी तरलता केन्द्रीय बैंकले खिचेको अवस्था भएकोले कर्जामा मागमा अपेक्षित सुधार नभएसम्म ब्याजदर बढ्न भन्दा लागत घटाउनुपर्ने अवस्था रहेको बैंकरहरू बताउँछन् ।

८ वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशभन्दा तल झरेको छ । धेरैजसो बैंकले ५ वा १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै ५ प्रतिशत वा सोभन्दा बढी ब्याजदर प्रस्ताव गर्दा ६ महिना वा १ वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशत भन्दा पनि तल छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमार्फत् नीतिगत दरहरु घटाएका थिए । उनले विशेष गरी ब्याजदर करिडोरको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दर ०.२५ प्रतिशत बिन्दुले घटाएर २.७५ प्रतिशत बनाएका थिए । जसले बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको हो । उनले नीतिगत दर र बैंकदर समेत घटाएका थिए।

हाल सञ्चालनमा रहका २० मध्ये ग्लोबल आईएमई बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत प्रस्ताव गरेको छ। बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गरेको हो ।

कृषि विकास बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ४.७० प्रतिशत मात्रै ब्याजदर दिने भएका छन् । कृषि विकासले ४ वर्षभन्दा बढी अवधि र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ वर्षभन्दा माथिका लागि उक्त ब्याजदर प्रस्ताव गरेका हुन् । व्यक्तिगत मुद्दति निक्षेपमा सिटिजन्स, प्राइम र नबिल बैंकले ४.७५ प्रतिशत र कुमारी बैंकले ४.९१ प्रतिशत दिनेछन् ।

प्रभु बैंकले ४.९५ प्रतिशतलाई नै निरन्तरता दिएको छ । त्यस्तै सानिमा, एनआईसी एशिया र हिमालयन बैंकले पनि ब्याजदर घटाएका छन् । हिमालयन बैंकले ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाउँदा एनआईसी एशिया बैंकले ०.७५ प्रतिशतले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।