अबदेखि एनआइसी एशिया, एभरेष्ट र ग्लोबल आइएमइ बैंकको ‘ब्यालेन्सिट’ अर्ब होइन, खर्बमा



काठमाडौं । पुँजी वृद्धिसँगै बैंकहरुको ब्यालेन्सिटको आकार पनि बढेको छ । यसअघि राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकको ब्यालेन्सिटको आकार मात्रै खर्ब बढीको थियो ।

तर, आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्ममा थप ३ वटा बैंकले पनि आफ्नो ब्यालेन्सिटको आकार बढाएर खर्ब माथि पुर्याएका छन् । यसरी खर्ब बढी बिजनेशको आकार भएका बैंकहरुको नाफा अर्ब बढी छ ।

पहिलोपटक एनआइसी एशिया बैंक, एभरेष्ट बैैंक र ग्लोब आइएमइ बैंकले आफ्नो ब्यालेन्सिटको आकार खर्ब नघाएका हुन् ।

बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको ६ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो बैंकले गत असार मसान्तदेखि आफ्नो कर्जाको आकारलाई पनि खर्बमाथि पुर्याएको हो ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो बैंकले पनि गत असार मसान्तदेखि नै कर्जाको आकारलाई खर्ब नघाएको हो ।

त्यस्तै, नविल बैंकले पनि ०७४ पुस मसान्तसम्ममा १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षदेखि नै निक्षेपको आकार खर्ब माथि रहेपनि चालू आर्थिक वर्षको यसै त्रैमासदेखि मात्रै बैंकले कर्जाको आकारलाई पनि खर्ब पुर्याएको हो । गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षको पुस मसान्तको भन्दा ४१ अर्ब रुपैयाँले निक्षेप बढाउँदै एनआइसी एशिया बैंकले पहिलोपटक आफ्नो ब्यालेसन्सिटको आकारलाई खर्ब पुर्याएको छ । बैंकले ०७४ पुसमा १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ब्राण्डिङमा एग्रेसिभरुपमा अघि बढेको बैंकले एक वर्षको अवधिमै निक्षेप संकलन र कर्जा प्रवाहमा तमत्कारिक वृद्धि गरेको हो ।

त्यसैगरी, १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन र ८४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दै पहिलोपटक ब्यालेन्सिटको आकार खर्ब पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले ९० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो बैंकले आगामी असार मसान्तसम्ममा कर्जाको आकार पनि खर्ब नघाउन सक्ने देखिन्छ ।

त्यसैगरी, १ खर्ब रुपैयाँ निक्षेप संकल र ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दै ग्लोबल आइएमइ बैंकले पनि आफ्नो ब्यालेन्सिटको आकार खर्बमा पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।


पुष्प दुलाल