अनलाइन ठगी बढेको भन्दै भारतका बैंकहरूले गरे वेबसाइट परिवर्तन

147
Shares

काठमाडौं । भारतका सबै बैंकहरूको वेबसाइट परिवर्तन भएको छ । भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबीआई)को निर्देशनअनुसार भारतका बैंकहरूको वेबसाइटको डोमेन नाम वा यूआरएल एड्रेस परिवर्तन भएको हो ।

स्टेट बैंक अफ इन्डिया(एसबिआई), पञ्जाब नेशनल बैंक (पिएनबी) र एचडीएफसी बैंक लगायतका बैंकहरूको वेबसाइटको डोमेन नाम वा यूआरएल एड्रेस परिवर्तन गरिएको हो ।

पहिले स्टेट बैंक अफ इन्डियाको यूआरएल sbi.co.in थियो अहिले सो यूआरएल परिवर्तन् भएर sbi.bank.in भएको छ। पिएनबी बैंकको पनि pnb.co.in थियो त्यो पनि परिवर्तन् भएर pnb.bank.in भएको छ । त्यस्तै एचडीएफसी बैंकको पनि युआरएल hdfc.bank.in बनाइएको छ ।

यसरी सबै बैंकहरुले वेबसाइट एड्रेस परिवर्तन गरेका छन् । परिवर्तन गर्नुको मुख्य कारण भनेको बढीरहेको बैकिङ ठगी हो ।

भारतमा नक्कली वेबसाइट बनाएर ठगी गर्ने गिरोहहरु बढ्न थालेपछि भारतीय रिजर्व बैंकले आफ्नो वेबसाइट सुरक्षित बनाउन निर्देशन दिएको थियो ।

आरबीआईले यस सम्बन्धमा २१ अप्रिल २०२५ मा एक परिपत्र जारी गरेको थियो । सो परिपत्रमा आरबीआईले बैंकहरूलाई आफ्नो हालको वेबसाइट डोमेनलाई छिटोभन्दा छिटो डोमेनमा bank.in मा ट्रान्सफर गर्न निर्देशन दिएको थियो । यो प्रक्रिया कुनै पनि हालतमा ३१ अक्टोबर २०२५ भन्दा अघि सम्पन्न गर्नुपर्ने भनिएको थियो।

सो निर्देशका आधारमा बैंकहरूले आफ्नो नेट बैंकिङ वेबसाइट एड्रेस परिवर्तन गरेका हुन् ।

भारतीय बैंकहरूको यस कदमको मुख्य उद्देश्य भनेकै ग्राहकहरूको अनलाइन बैंकिङ सुरक्षालाई अझ मजबुत बनाउनु रहेको भारतीय समाचार संस्था न्यूज १८ हिन्दीले जनाएको छ ।