
एजेन्सी । दक्षिण कोरियामा बिहीबार हलुका ट्रक बजारमा ठोक्किँदा दुईजनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
ट्रक बजारभित्र झन्डै १५० मिटर कुदेको र त्यसपछि मात्र रोकिएको आपतकालीन अधिकारी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो घटना राजधानी सौलबाट लगभग २० किलोमिटर पश्चिमतर्फ रहेको बुचेअन नामक शहरको बजारमा भएको एक दमकल अधिकारीले टेलिभिजन ब्रीफिङमा बताएका छन् ।
योन्हाप समाचार एजेन्सीका अनुसार, हृदयघातका कारण अचेत भएका दुईजनालाई पछि मृत घोषित गरिएको थियो ।
ट्रक बजारतर्फ अगाडि दौडिनुअघि करिब २८ मिटर पछाडि फर्किएको देखिएको दमकल अधिकारीले बताए । अचानक तीव्र गतिमा गाडी अगाडि बढेपछि नियन्त्रण गुमेकाले दुर्घटना भएको चालकले बताएका छन् ।
चालकको मापसे परीक्षण गर्दा उनले मदिरा सेवन नगरेको पाइएको एक प्रहरी अधिकारीले बताए । अधिकारीका अनुसार, दुर्घटनाको कारण पत्ता लगाउनका लागि सवारीसाधन अनुसन्धान टोलीलाई हस्तान्तरण गरिनेछ ।
कोरियाली टेलिभिजनमा देखाइएको सीसीटीभी फुटेजमा बजारमा मानिसहरू किनमेल गरिरहेका बेला नीलो रंगको ट्रक तीव्र गतिमा स्टलहरूबीचको गल्ली हुँदै गएर एउटा पसलमा ठोकिएको देखिएको छ ।
योन्हापका अनुसार, प्रहरीले ६० वर्ष उमेरका चालकलाई पक्राउ गरी सोधपुछ थालेको छ ।








प्रतिक्रिया