
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सरकार पुनः सञ्चालन गर्न र अमेरिकी इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गर्न खर्च विधेयकमा हस्ताक्षर गरेका छन् ।
बुधबार राति प्रतिनिधिसभाले २०९ का विरुद्ध २२२ मतले पारित गरेको केही घण्टापछि नै यस अल्पकालीन विधेयकलाई कानून बनाउनका लागि हस्ताक्षर गरेका हुन् । सिनेटले दुई दिनअघि सोही विधेयकलाई साँघुरो मतले पारित गरेको थियो ।
ओभल कार्यालयमा बोल्दै ट्रम्पले ४३ दिन लामो शटडाउनबाट मानिसहरू धेरै आहत भएपछि सरकारले सामान्य सञ्चालन पुनः सुरु गर्ने बताए ।
अक्टोबर महिनादेखि धेरै सरकारी सेवा निलम्बन भएका छन् । करिब १४ लाख संघीय कर्मचारीहरू बेतलबी बिदामा छन् वा तलब नलिइकन काम गरिरहेका छन् । खाद्य सहायता पनि अन्योलमा परेको छ र हवाईयात्रा देशव्यापी रूपमा अवरुद्ध भएको छ ।
सरकारी सेवा आगामी दिनहरूमा पुनः खुल्ने अपेक्षा गरिएको छ भने आगामी थ्यांक्सगिभिङ बिदाअघि हवाईयात्राको अवरोध खुल्नेछ । संघीय उड्डयन प्रशासन (एफएए) ले शटडाउनका कारण कर्मचारी अभाव भएपछि हवाई ट्राफिक घटाएको थियो ।
त्यसको प्रत्यक्ष असर बुधबार प्रतिनिधिसभा मतदानका लागि राष्ट्रिय राजधानी पुग्न खोज्ने कांग्रेस सदस्यहरूमाथि परेको थियो ।
विस्कन्सिनका रिपब्लिकन डेरिक भ्यान ओर्डेनले आफ्नो मत हाल्न प्रतिनिधिसभामा पठाउनुअघि देशभरि १६ सय ९ किमी मोटरसाइकलमा यात्रा गरे ।
यस विधेयकले सरकारलाई जनवरी ३० सम्म मात्र खुला राख्न कोष उपलब्ध गराउँछ । त्यतिबेला सांसदहरूलाई फेरि सरकारलाई कोष उपलब्ध गराउने उपाय खोज्नुपर्नेछ ।
यसलाई कानून बनाउनका लागि हस्ताक्षर गर्नुअघि ट्रम्पले शटडाउनको दोष डेमोक्य्राटिक पार्टीमाथि लगाए । ‘उनीहरूले पूर्ण रूपमा राजनीतिक कारणले गर्दा शटडाउन लम्ब्याए,’ उनले भने, ‘मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले अमेरिकालाई दिएको दुःख भुल्नुहुन्न ।’
सिनेट डेमोक्य्राटहरूले चेम्बरमा अल्पमतमा हुँदाहुँदै पनि शटडाउन ट्रिगर गर्न सफल भए किनभने रिपब्लिकनहरूलाई अस्थायी कोष विधेयक पारित गर्न केही डेमोक्य्राट मत चाहिन्थ्यो ।
उनीहरूले सुरुमा विधेयकलाई समर्थन गर्न अस्वीकार गरे । रिपब्लिकनहरूले वर्षको अन्त्यमा समाप्त हुने न्यून आय भएका अमेरिकीहरूका लागि स्वास्थ्य बीमा अनुदान विस्तार गर्न सहमत हुनुपर्ने माग डेमोक्य्राटहरूले गरे ।
रिपब्लिकनहरूले सरकार पुनः खोलेपछि स्वास्थ्य चर्चा गर्न सकिने अडान कायम राखे ।
तर, आइतबार आठजना सिनेट डेमोक्य्राटहरूको समूहले पार्टीबाट अलग्गिएर खर्च प्याकेज पारित गर्न सहयोग गरे । उनीहरूले डिसेम्बरमा ती स्वास्थ्य अनुदानमा मतदानको प्रतिबद्धताको बदलामा यसका लागि मतदान गरे ।
यसले डेमोक्य्राटिक पार्टीभित्र रोष निम्त्यायो र प्रतिनिधिसभा अल्पमत नेता हाकिम जेफ्रिज र क्यालिफोर्निया गभर्नर ग्याभिन न्युसमजस्ता व्यक्तिहरूले सार्वजनिक आलोचना गरे ।
चेम्बरका अल्पमत नेता सिनेटर चक शुमरले यस प्याकेजले अमेरिकाको स्वास्थ्य संकट समाधान गर्न कुनै ठोस काम नगर्ने टिप्पणी गरेका छन् ।
भर्जिनियाका सिनेटर टिम काइन सम्झौताका पक्षमा मतदान गर्ने डेमोक्य्राटहरूको समूहमा थिए । उनले त्यस आलोचनालाई खण्डन गर्दै उनले प्रतिनिधित्व गर्ने संघीय कर्मचारीहरूले सम्झौतामा सहमति जनाएबापत धन्यवाद भनिरहेका छन् भने ।
सप्ताहान्तमा गरिएको सम्झौताले संघीय सरकारलाई जनवरी ३० सम्म खर्च गर्नका लागि कोष उपलब्ध गराउँछ ।
सबै संघीय कर्मचारीहरूलाई शटडाउन अवधिको समयका लागि तलब दिने ग्यारेन्टी र आगामी सेप्टेम्बरसम्म पूरक पोषण सहायता कार्यक्रमका लागि कोष पनि विधेयकमा समावेश छ । उक्त कार्यक्रमले आठमध्ये एक अमेरिकीलाई खाद्य सहायता प्रदान गर्छ ।
प्याकेजमा डिसेम्बरमा डेमोक्य्राटहरूले छुटका लागि अडान लिएका स्वास्थ्य अनुदान विस्तारमा मतदानको सम्झौता पनि समावेश छ ।








प्रतिक्रिया