दक्षिण एसियामा आतंकवादको छायाँ: भारत, पाकिस्तान र बंगलादेशका राजधानीमा कसले गर्‍यो बम विस्फोट ?

462
Shares

एजेन्सी । दक्षिण एसियामा विगत तीन दिनमा आतंकवादको कालो बादल मडारिएको छ । सोमबार भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमण हुँदा १३ जनाको ज्यान गएको छ । लाल किल्ला मेट्रो स्टेशन नजिक ह्युन्डाईको आई२० कार विस्फोट गरी आतंकवादीले जनधनको क्षति गराए ।

कार चलाइरहेका मोहम्मर उमर विस्फोट गराउनैका लागि फरीदाबादबाट दिल्ली आइपुगेका थिए । फरीदाबादमा बिहान साढे ७ बजे देखिएको त्यो कार दिल्लीका विभिन्न ठाउँ घुमेर सुनहरी मस्जिदको पार्किङमा सबा ३ बजेतिर पुगेको थियो । त्यो कार त्यहाँ साँझको ६ः४८ सम्म रहेको सुरक्षाकर्मीहरूले सीसीटीभी फुटेज हेरेर पत्ता लगाएका छन् ।

साँझमा धेरै मानिसको चहलपहल बजारमा बढेपछि विस्फोट गर्ने र अधिकतम क्षति गराउने योजना उमरले बनाएको बताइएको छ । उमरले त्यो कार लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिक रोकेका थिए । त्यसपछि ६:५२ मा उक्त कार भयंकर विस्फोट भएको थियो ।

अनुसन्धानकर्मीहरूले उमरको कनेक्शन खोज्दै जाँदा फरीदाबादमा मेडिकल डाक्टरहरूको समूह पत्ता लगाएका छन् । पक्राउ परेका १२ जना आतंकवादीमध्ये ६ जना त डाक्टर नै छन् ।

तीमध्येकी डा शाहीन शाहिदले आतंकवादी डाक्टरहरूसँग मिलेर भारतभरि आक्रमणको योजना बुनेको स्वीकार गरेकी छन् । शाहीनलाई सुरक्षाकर्मीहरूले सोधपुछ गर्दा विगत दुई वर्षदेखि विस्फोटक पदार्थ जम्मा गरिरहेको बताइन् ।

शाहीन र उनका साथीहरू फरीदाबादको ह्वाइट कलर टेरर मोड्युलमा जोडिएको पाइएको छ । यो मोड्युल पाकिस्तानमा रहेका जैश–ए–मोहम्मद र अंसार गजवत–उल–हिंद नामक आतंकवादी संगठनसँग जोडिएको छ । फरीदाबादको फलाह विश्वविद्यालयबाट यो मोड्युलको सञ्चालन भइरहेको पाइएको छ ।

यसैबीच जम्मु–कश्मीर प्रहरीले बुधबार मोड्युलमा आबद्ध इश्तियाक नामक व्यक्तिलाई हरियाणाको मेवातबाट पक्राउ गरेको छ । अल फलाह युनिभर्सिटी क्याम्पसमा भाडाको घरमा ती मौलवी बसिरहेका थिए । उनको घरबाट २५ सय किलोभन्दा बढी एमोनियम नाइट्रेट, पोटेसियम क्लोरेट र सल्फर बरामद भएको बताइएको छ ।

डा शाहीन सईदलाई आतंकवादी मोड्युलको सबभन्दा महत्त्वपूर्ण व्यक्ति मानिएको छ । उनी जैशका प्रमुख मौलाना मसूद अजहरकी बहिनी सादिया अजहरको प्रत्यक्ष सम्पर्कमा थिइन् । उनी आतंकवादी संगठनको महिला शाखा जमात उल मोमिनातसँग पनि जोडिएकी थिइन् ।

सादियाले गत मे महिनामा भएको अपरेशन सिन्दूरमा मारिएका आफ्ना पतिको बदला लिनका लागि यो शाखा बनाएकी थिइन् । त्यसैले दिल्लीमा भएको आतंकवादी आक्रमणको कडी पाकिस्तानसँगै जोडिन पुग्छ ।

दिल्लीमा विस्फोट भएको भोलिपल्टै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको जिल्ला अदालत बाहिर बम विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । घटनामा ३६ जना घाइते भएका छन् ।

प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तान प्रहरीका अनुसार, एकजना व्यक्तिले जी–११ सेक्टरमा रहेको अदालतको मूल ढोकामा आत्मघाती आक्रमण गरेका हुन् । उनी बारम्बार अदालत परिसरमा प्रवेश गर्न खोजेका थिए तर सफल भएका थिएनन् । त्यतिखेर अदालत परिसरमा सयौं वकिल र वादी प्रतिवादीहरू उपस्थित थिए ।

आक्रमणमा उपयोग भएको विस्फोटक पदार्थको तौल लगभग पाँच किलो भएको र त्यसमा बल बियरिङ भरिएको बताइएको छ । एकल आक्रमणकारी भए पनि उनलाई निर्देशन दिने व्यक्तिको खोजी भइरहेको छ ।

यसैबीच सोमबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको दक्षिण वजीरिस्तानमा रहेको सेनाको कलेजमा विस्फोटक पदार्थ भरिएको एउटा कार सेनाको कलेजको प्रवेशद्वारमा ठोकिएको थियो । त्यसपछि लडाकुहरूले सैनिकहरूलाई नियन्त्रणमा लिएका थिए । सेनाले उद्धार कारवाही चलाएर ३०० सैनिकहरूलाई लडाकुहरूको नियन्त्रणबाट छुटाएको बताइएको छ ।

मंगलबार मात्र खैबर पख्तुनख्वाकै डेरा इस्माइल खानमा बम विस्फोट हुँदा कम्तीमा १४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
पाकिस्तानले यी आक्रमणहरूमा भारतीय प्रोक्सीहरूको हात रहेको आरोप लगाएको छ । प्रधानमन्त्री शहबाज शरीफले यी दुवै आक्रमण भारतको राज्यसमर्थित आतंकवादको निकृष्ट उदाहरण भएको आरोप लगाए । संसारले भारतको यस्तो षड्यन्त्रको निन्दा गर्नुपर्ने उनको भनाइ छ ।

टीटीपीको सम्बन्ध अफगानिस्तानको तालिबान समूहसँग रहेको र तालिबानले भारतसँग राम्रो सम्बन्ध बनाइरहेको पृष्ठभूमिमा पाकिस्तानले आफ्नो भूमिमा भइरहेका आक्रमणमा भारतको भूमिका रहेको शंका गरेको हुनसक्छ ।

भारतले चाहिँ पाकिस्तानको आरोपको कठोर खण्डन गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पाकिस्तानमा भइरहेको शक्ति हत्याउने प्रयासबाट जनताको ध्यान मोड्नका लागि त्यहाँको सरकारले भारतका विरुद्ध गलत भाष्य रचेको आरोप समेत लगाएका छन् ।

उता बंगलादेशमा आमनिर्वाचनको तयारीका बीच एकपछि अर्को विस्फोट र आगजनीका घटनाले शहरलाई हल्लाएको छ । मंगलबार आन्तरिक सरकारका प्रमुख मुहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकको केन्द्रीय कार्यालयलाई समेत लक्ष्य बनाएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्तरी बंगलादेशको माइमेनसिंहमा भएको अर्को आगजनीमा बसभित्र सुतिरहेका एक पुरुषको जलेरै मृत्यु भएको छ । अज्ञात समूहले सवारीसाधनमा आगो लगाएको थियो ।

पुलिस र दमकल अधिकारीहरूका अनुसार, पहिलो घटना सोमबार बिहान १२ः५४ बजे ढाकामा राज्यले सञ्चालन गरेको राजधानी परिवहन बसमा आगो लगाउँदा भएको थियो । त्यसपछि बिहान २ः०३ बजे नतुन बजार क्षेत्रमा एक निजी कारमा पनि आगो लगाइएको ढाकास्थित डेली स्टारले जनाएको छ ।

यी प्रारम्भिक घटनापछि बिहान ३ः४५ बजे मिरपुरस्थित ग्रामीण बैंक केन्द्रीय कार्यालय अगाडि विस्फोट भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले बैंक भवनतर्फ स्थानीय रूपमा बनाइएको बम फ्याँकेर भागेको प्रत्यक्षदर्शीहरूले जनाए ।
त्यसको केही घण्टापछि मत्स्य तथा पशुपालन सल्लाहकार फरिदा अख्तरको स्वामित्वमा रहेको व्यापारिक प्रतिष्ठानमाथि पनि मोटरसाइकलमै आएका आक्रमणकारीहरूले यस्तै बम प्रहार गरेका थिए ।

त्यसपछि हिंसा ढाकाका अन्य भागहरूमा पनि फैलिएको छ ।

मंगलबार बिहान धनमण्डीस्थित इब्न सिना अस्पताल र मिडास सेन्टरनजिक चारवटा घरेलु बम फ्याँकिएको रिपोर्ट छ । पछि मौचाक चोक, बंगलादेश बेटार (आगरगाउँ), खिलगाउँ फ्लाईओभर र शाह अली बजार (मिरपुर) क्षेत्रमा पनि विस्फोटका आवाज सुनेको स्थानीयहरूले बताएका छन् ।

ढाकास्थित विद्यार्थी नेतृत्वमा रहेको नेशनल सिटिजन पार्टीको कार्यालयमा पनि बम प्रहार गरिएको थियो । त्यसमा एक व्यक्तिलाई चोट लागेको छ । प्रहरीले त्यहाँबाट नफुटेको अर्को बम बरामद गरेको र पाँचजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ ।

त्यही बेलुकी ढाकाका विभिन्न चार स्थानमा चार सवारीसाधनमा आगो लगाइएको थियो । शाहजादपुर, मेरुल बड्डा र धनमण्डीमा समेत बस जलाइएका छन् ।

बम विस्फोट र आगजनीपछिका घटनालाई मध्यनजर गर्दै राष्ट्रिय स्तरमै सुरक्षा कडा पारिएको छ । रेल्वे प्राधिकरणलाई राति गस्ती बढाउन र स्टेशन तथा गोदामहरूमा निगरानी गर्न आदेश दिइएको छ ।

निर्वाचनको वातावरण बिगार्न र अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणको फैसलाअघि अशान्ति फैलाउन यी आक्रमणहरू गरिएको बंगलादेशी अधिकारीहरू बताउँछन् । उक्त न्यायाधिकरणले निवर्तमान प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधका लागि बिहीबार दोषी ठहर गर्ने सम्भावना रहेको बताइन्छ ।

बंगलादेशमा कुनै समूहले आगजनी र विस्फोटको जिम्मेवारी लिएको छैन ।

केही दिनको अन्तरालमा दक्षिण एसियाका तीन राजधानीमा भएका यी आक्रमणले अशान्ति फैलाउन योगदान गरेका छन् ।