
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले भण्डारीलाई प्रदेश प्रमुख पदबाट हटाएका हुन् ।
प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय र सिफारिशका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशकी प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गरिएको छ ।’
भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नगरी, महोत्तरीको बर्दिवासस्थित एक होटलमा यादवलाई शपथ गराएकी थिइन् ।
यस घटनापछि सात दलका सांसद र कार्यकर्ताले मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा कार्यालयमा तोडफोडसमेत गरिएको थियो ।
उक्त विवादपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको थियो । संविधान अनुसार, मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति प्रदेश प्रमुखको नियुक्ति र पदमुक्ति गर्न सक्ने व्यवस्था छ ।









प्रतिक्रिया