उत्तर कोरियाले गर्‍यो बलिस्टिक क्षेप्यास्त्र प्रहार

217
Shares

एजेन्सी । उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी तटतर्फ समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले जनाएका छन् ।

यो प्रक्षेपण पछिल्ला दुई हप्ताभित्रका अन्य क्षेप्यास्त्र परीक्षणहरूपछि भएको हो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ताका लागि नयाँ निमन्त्रणा दिएपछि यो प्रक्षेपण गरिएको हो ।

दक्षिण कोरियाली सेनाका अनुसार, छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाको चीन सिमानासँग नजिक रहेको उत्तरपश्चिमी क्षेत्रमा रहेको इलाकाबाट प्रक्षेपण गरिएको हो । यसले करिब ७०० किलोमिटर दूरी तय गरेको बताइएको छ ।

दक्षिण कोरिया र अमेरिकाका निगरानी प्रणालीहरूले क्षेप्यास्त्र प्रक्षेपणका तयारीहरूको पहिचान गरेका थिए । क्षेप्यास्त्र उडानमा रहँदा त्यसको ट्य्राकिङ गरेको बताइएको छ । यो जानकारी जापानसँग पनि साझा गरिएको थियो ।

जापान सरकारका अनुसार, उत्तर कोरियाले सम्भावित रूपमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । त्यो जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको हुन सक्ने अनुमान गरिएको छ ।

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले उक्त प्रक्षेपणबाट अहिलेसम्म कुनै क्षतिको पुष्टि भएको रिपोर्ट प्राप्त नभएको बताइन् ।
गत साता दक्षिण कोरिया भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सँग भेटवार्ता गर्न चाहेका थिए ।

तर, उनीहरू बैठक हुन सकेन । ट्रम्पले किमलाई भेट्नका लागि पुनः कोरियाली प्रायद्वीप फर्किन इच्छुक भएको बताएका थिए ।

आफ्नो पहिलो कार्यकालमा सन् २०१९ मा ट्रम्पले दक्षिण र उत्तर कोरियाको सैन्य सिमानामा रहेको पनमुनजोम शान्ति गाउँमा किमसँग ऐतिहासिक भेट गरेका थिए ।

किमले ट्रम्पको पछिल्लो पहलमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर, ट्रम्पसँग आफ्नो मीठा सम्झना रहेको र वाशिङटनले आफ्नो देशलाई आणविक हतियार त्याग्नका लागि दबाब दिन छोडेमा वार्ता नगर्नुपर्ने कुनै कारण नरहेको किमको भनाइ छ ।

ट्रम्प प्रशासनले सम्पत्ति शुद्धीकरणको आरोपमा आफ्ना अधिकारी र संस्थाहरूमा प्रतिबन्ध लगाएर उत्तर कोरियासँग शत्रुतापूर्ण व्यवहार गरिरहेको भनी बिहीबार उत्तर कोरियाको विदेश मन्त्रालयले जनाएको थियो । मन्त्रालयले अमेरिकी कदमको कठोर प्रतिक्रिया दिने चेतावनी दिएको थियो तर विस्तृत रूपमा केही पनि बताएन ।

यसअघि यसै साता अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले दक्षिण कोरिया भ्रमणका क्रममा अमेरिकाको सुरक्षा प्रतिबद्धता दोहोर्याएका थिए । दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाको प्राथमिक लक्ष्य अझै पनि प्योङयाङलाई निरुत्साहित गर्नु नै भएको उनले बताएका थिए । तर, सेनालाई क्षेत्रीय खतरा विरुद्ध लचकदार रूपमा उपयोग गर्ने दृष्टिकोण पनि अपनाइँदै गरेको उनले जानकारी दिए ।