न्युजील्यान्डमा विद्यार्थी भिसामा जानेले पहिलेको भन्दा बढी समय काम गर्न पाउने

357
Shares

एजेन्सी । न्युजील्यान्डमा विद्यार्थी भिसामा गएका मानिसले काम गर्न पाउने अधिकारमा भएको संशोधन सोमबारबाट औपचारिक रूपमा लागू भएका छन् ।

नयाँ नियमअनुसार, योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब शैक्षिक सत्रको अवधिमा हप्तामा २५ घण्टासम्म काम गर्न पाउनेछन् ।

यो परिवर्तन सरकारको इन्टरनेशनल एजुकेशन ग्रोथ प्लान अन्तर्गत आएको हो । जुलाई महिनामा यसलाई प्रस्तुत गरिएको थियो । देशको शिक्षाक्षेत्रको दिगो विस्तार गर्नु र बढी संख्यामा विदेशी विद्यार्थी आकर्षित गर्नु यस योजनाको उद्देश्य हो ।

नयाँ नियमअनुसार, वैध विद्यार्थी भिसा भएका विश्वविद्यालय र माध्यमिक विद्यालयका विद्यार्थीहरूले हप्तामा २५ घण्टासम्म काम गर्न पाउनेछन् । पहिला उनीहरूले २० घण्टा मात्र काम गर्न पाउँथे ।

नोभेम्बर ३ पछि जारी गरिएका सबै नयाँ विद्यार्थी भिसामा यो व्यवस्था लागू हुनेछ । त्यो मितिअघि दर्ता गरिएका आवेदनहरू पनि यसमा समावेश छन् ।

हाल २० घण्टाको सीमा भएको भिसा भएका विद्यार्थीहरूले भेरिएशन वा कन्डिशन्स वा नयाँ भिसाको लागि निवेदन दिएर आफ्नो काम गर्न पाउने समय बढाउन सक्नेछन् ।

पहिले जस्तै निर्धारित बिदा अवधिमा विद्यार्थीहरूले पूर्णकालीन काम गर्न सक्नेछन् ।

१२ कक्षाका विद्यार्थीहरूका लागि पहिलेझैं अभिभावक र विद्यालयको अनुमति आवश्यक हुनेछ । तर, अब उनीहरूले पनि हप्तामा २५ घण्टासम्म काम गर्न पाउनेछन् ।

न्युजील्यान्डको आप्रवासन विभागका अनुसार, विद्यार्थीलाई अध्ययनसँग सन्तुलन मिलाउँदै थप कामको अनुभव लिन सहयोग पुर्याउने उद्देश्यले यी सुधारहरू गरिएको हो ।

यस नीतिले शिक्षाको स्तर उच्च राख्ने, आप्रवासन जोखिमहरू व्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय शिक्षाक्षेत्रलाई सुदृढ पार्ने लक्ष्य लिएको आधिकारिक वक्तव्यमा उल्लेख गरिएको छ ।

हाल न्युजील्यान्डमा ४० हजार ९ सय ८७ जना विद्यार्थी भिसाधारकहरू छन् । तिनले अध्ययन अवधिमा काम गर्ने अधिकार पाएका छन् ।

यीमध्ये करिब ३० हजार भिसा मार्च २०२६ सम्ममा समाप्त हुनेछन् । यस नीतिबाट धेरै विद्यार्थीले हालकै शैक्षिक सत्रमा लाभ लिन सक्नेछन् ।

यस नयाँ लचिलोपनले न्युजील्यान्डलाई विदेशी विद्यार्थीका लागि अझ आकर्षक गन्तव्य बनाउने र जीवनयापन खर्च बढेको अवस्थामा विद्यार्थीहरूलाई सहयोग गर्ने बताइएको छ ।

सरकारले इन्टरनेशनल एजुकेशन ग्रोथ प्लान अन्तर्गत थप सुधारहरूको पनि अध्ययन गरिरहेको छ । तिनमा व्यावसायिक शिक्षाका स्नातकहरूका लागि छोटो अवधिको वर्किङ भिसा र सरलीकृत भिसा प्रक्रिया जस्ता उपायहरू पनि समावेश छन् ।