ज्यान जोगाउनका लागि आत्मसमर्पण गर्न युक्रेनी सेनालाई रुसको आह्वान

742
Shares

एजेन्सी । युक्रेनी सेनाहरू पोक्रोभ्स्क र कुपियान्स्कका युद्धग्रस्त शहरहरूमा घेरिएको छन् र ज्यान जोगाउनका लागि उनीहरूले आत्मसमर्पण गर्नुपर्ने रुसले बुधबार घोषणा गरेको छ ।

रुसले डोनेत्स्कको प्रवेशद्वार भनेर चिनिने पोक्रोभ्स्क कब्जा गर्न सन् २०२४ देखि प्रयास गरिरहेको छ । यो प्रयास डोनबास क्षेत्र (जहाँ युक्रेनका सैन्यबलहरूले अझै करिब १० प्रतिशत अर्थात् ५ हजार वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा राखेका छन्) पूर्ण रूपमा कब्जा गर्ने योजनाको हिस्सा हो ।

अन्य शहरहरूमा उपयोग गरिएको सामान्य सिधा आक्रमण रणनीतिभन्दा फरक रूपमा यसपटक रुसले दुईतर्फी पिन्सर रणनीति अपनाएको छ । त्यसले पोक्रोभ्स्क र कुपियान्स्क दुवैमा युक्रेनी सेनाहरूलाई लगभग पूर्ण रूपमा घेरेको छ । त्यहाँ साना, तीव्र गतिका इकाइ र ड्रोनहरूले युक्रेनी आपूर्तिलाई छिन्नभिन्न गर्दै उनीहरूको पंक्तिमा अव्यवस्था फैलाउँदै आएका छन् ।

रुसी सेनाको यस्तो रणनीतिले दुवै क्षेत्रहरूमा एउटा ग्रे एरिया सिर्जना गरेको छ । त्यहाँ कुनै पनि पक्षको पूर्ण नियन्त्रण छैन । तर, युक्रेनका लागि त्यसलाई बचाउन अत्यन्त कठिन भएको रुसका सैन्य ब्लगरहरूले टिप्पणी गरेका छन् ।

रुसी सेनाहरू पोक्रोभ्स्क (रूसले जसलाई क्रास्नोआर्मेइस्क भन्छ) लाई पूर्ण रूपमा घेर्नबाट केही किलोमिटर मात्र टाढा रहेको युद्ध मानचित्रहरूले देखाएका छन् । कुपियान्स्कको ठूलो हिस्सा नियन्त्रणमा लिएर शहर जाने मुख्य सडकमा रुसी सैनिकहरू अगाडि बढिरहेका छन् ।

रुसको रक्षा मन्त्रालयले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको बयानलाई खारेज गरेको छ । कुपियान्स्कमा ६० जना रुसी सैनिक मात्र बाँकी रहेको र युक्रेनी सैन्यबलले तिनीहरूलाई हटाउने प्रयास गरिरहेको भनी जेलेन्स्कीले बयान दिएका थिए ।

युक्रेनी इकाइहरू घेराबन्दीमा फँसेको, उनीहरूको स्थिति द्रुत गतिमा बिग्रँदै गएको र रुसी सेनाहरू निरन्तर अगाडि बढिरहेको मन्त्रालयले दाबी गरेको छ ।

‘यस अवस्थामा युक्रेनी सैनिकहरूले स्वैच्छिक रूपमा आत्मसमर्पण गर्नुबाहेक आफूलाई बचाउने कुनै विकल्प नरहेको भनी वक्तव्य जारी गरिएको छ ।

युरोपमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा घातक युद्ध सुरु भएको करिब चार वर्षपछि रुस अहिले पनि सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने प्रयासमा छ । पूर्वी युक्रेनका खार्किभ र निप्रोपेत्रोभ्स्क प्रदेशहरूतर्फ पनि अगाडि बढिरहेको छ ।

अहिले रुसले युक्रेनको करिब २० प्रतिशत क्षेत्र अर्थात् १ लाख १६ हजार वर्ग किलोमिटर नियन्त्रणमा लिएको रुसी सेनाको दाबी छ ।

युक्रेनी स्रोतहरूले चाहिँ यो वर्ष मात्र रुसले ३४ सय वर्ग किलोमिटरभन्दा बढी युक्रेनी भूमि कब्जा गरिसकेको जनाएका छन् ।