पाकिस्तानले साँच्चिकै आणविक परीक्षण गरिरहेको हो ?

175
Shares

एजेन्सी । गत साता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुस, चीन र उत्तर कोरिया र पाकिस्तानले भूमिगत आणविक परीक्षण गरिरहेको दाबी गरेका छन् ।

उनको त्यस दाबीपछि दक्षिण एसियाको सुरक्षासम्बन्धी सबैभन्दा पुरानो रहस्य पुनः सतहमा आएको छ । पाकिस्तानको गोप्य आणविक कार्यक्रमबारे अहिले चर्चा भइरहेको छ ।

सीबीएससँगको अन्तर्वार्तामा ट्रम्पले केही देशहरू भूमिगत परीक्षण गरिरहेका छन् र मानिसहरूलाई ठ्याक्कै के भइरहेको छ थाहा हुँदैन भन्दै अमेरिकाले पनि त्यस्तै गर्न सक्ने संकेत दिएका थिए ।

पाकिस्तानले ट्रम्पको यस दाबीलाई आधारहीन भनेर अस्वीकार गरेको छ । एक वरिष्ठ अधिकारीका अनुसार, पाकिस्तानले पहिलोपटक आणविक परीक्षण गरेको थिएन र अब पुनः सुरु गर्ने पहिलो देश पनि हुनेछैन ।

ट्रम्पको भनाइले सन् १९९८ को चागाइ परीक्षणपछि लागू गरिएको पाकिस्तानको स्वैच्छिक आणविक परीक्षण निषेध नीति अझै कायम रहेको कुरा दोहोर्याएको छ । तर, ट्रम्पको भनाइपछि चर्चाको नयाँ चक्र सुरु भएको छ । पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा हालै आएका साना भूकम्पहरू गोप्य विस्फोटका कारण हुन सक्ने हल्ला फैलिएको छ ।

गत अप्रिल ३० देखि मे १२ बीच सो क्षेत्रमा ४.० देखि ४.७ म्याग्निच्युडका कम्तीमा चार भूकम्प आएका थिए जुन सन् १९९८ मा पाकिस्तानले गरेका परीक्षणहरूजस्तै थिए । त्यतिबेला पनि विज्ञहरूले यी भूकम्पहरू प्राकृतिक भएको बताए किनकि यो क्षेत्र विश्वकै सक्रिय भूकम्पीय रेखामध्ये एकमा पर्छ ।

तर, ट्रम्पको नयाँ टिप्पणीले पुरानो शंका फेरि जगाएको छ । पाकिस्तान कहिलेकाहीँ लुकेर परीक्षण गर्छ कि भन्ने शंका छ ।

पाकिस्तानले गरेका परीक्षणहरू सन् १९९८ मा मात्र आधिकारिक रूपमा पुष्टि भएका हुन् । रस कोह हिल्स र खरन मरुभूमिमा भएका ती ६ वटा भूमिगत विस्फोटहरूले करिब ४.८ म्याग्निच्युडको कम्पन गराएका थिए ।

ती विस्फोटहरू विश्वव्यापी रूपमा आणविक परीक्षण प्रतिबन्ध सन्धि (सीटीबीटी) को निगरानी प्रणालीले सजिलै पत्ता लगाएको थियो । आजको अत्याधुनिक भूकम्प र विकिरण निगरानी प्रविधिमा त्यस्तो परीक्षण गोप्य राख्नु लगभग असम्भव मानिन्छ ।

तर, हल्ला चलिरह्यो । पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा प्राकृतिक भूकम्प बारम्बार हुने गरेको भए पनि केही वर्षदेखि ती कम्पनहरूलाई गोप्य परीक्षणसँग जोड्ने षड्यन्त्र सिद्धान्तहरू चलिरहेका छन् ।

केही सामाजिक सञ्जाल पोस्टहरूले त भारतले पाकिस्तानको किरणा हिल्स (जसलाई आणविक भण्डारस्थल भनिन्छ) मा क्षेप्यास्त्र आक्रमण गरेको र अमेरिकाको न्युक्लियर इमर्जेन्सी रिस्पोन्स विमान पाकिस्तानमाथि देखिएको दाबी समेत गरे । तर, यी दाबीहरू कुनै आधिकारिक स्रोतले पुष्टि गरेका छैनन् ।

विश्लेषकहरूले यस्ता हल्लाहरूलाई अपरेसन सिन्दूर अवधिको मिथ्या सूचनाको परिणाम भनेका छन् जब भारत–पाकिस्तानबीच सीमित सैन्य झडप भइरहेकै थियो ।

सत्य के हो भने हालसम्म पाकिस्तानले पुनः परीक्षण गरेको ठोस प्रमाण भेटिएको छैन । अन्तर्राष्ट्रिय निगरानी प्रणालीले कुनै असामान्य गतिविधिको रिपोर्ट गरेको छैन र भूगर्भविद्हरूले तिनै भूकम्पहरूलाई प्राकृतिक मानिरहेका छन् ।

ट्रम्पको दाबीले अर्को गम्भीर प्रश्न उठाउँछ । पाकिस्तानका आणविक हतियारको वास्तविक नियन्त्रण कसको हातमा छ ?
औपचारिक रूपमा पाकिस्तानले यसको सम्पूर्ण नियन्त्रण नेशनल कमान्ड अथोरिटी मार्फत कडा सैन्य निगरानीमा राखेको बताउने गरेको छ ।

तर, यो कथा जटिल बन्छ । सीआईएका पूर्व अधिकारी जोन किरियाकोले दाबी गरेअनुसार, सन् २००० को दशकमा राष्ट्रपति परवेज मुशर्रफको समयमा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पाकिस्तानका हतियारहरूको वास्तविक नियन्त्रण लिएको थियो ।

उनका अनुसार, मुशर्रफले आतंकवादी जोखिम र अमेरिकी दबाबका कारण अनौपचारिक रूपमा आणविक हतियारको नियन्त्रण सुम्पेका थिए ।

इस्लामाबादले भने यस आरोपलाई कडा रूपमा अस्वीकार गर्दै नियन्त्रण सधैं पाकिस्तानकै हातमा रहेको जनाएको छ ।

सत्य जे भए पनि यसले अमेरिकी संलग्नताको स्तरबारे ठूलो अस्पष्टता झल्काउँछ । सेप्टेम्बर ११ पछि अमेरिकाले पाकिस्तानलाई सुरक्षात्मक प्रविधि र कमान्ड प्रणाली सुधारमा सहयोग दिएको मानिए पनि त्यसको गहिराइलाई गोप्य राखिएको छ ।

ट्रम्पले पाकिस्तान स्वतन्त्र रूपमा आणविक परीक्षण गर्छ भन्ने भनाइ र किरियाकोले आणविक हतियार अमेरिकी नियन्त्रणमा छ भन्ने दाबीबीचको विरोधाभासले वास्तविकता झन् रहस्यमय बनाएको छ ।

अमेरिकासँग स्न्याच–एन्ड–ग्य्राब योजना रहेको एनबीसी न्युजले सन् २०११ मा रिपोर्ट गरेको थियो । त्यो पाकिस्तानका हतियार अमेरिकाको सुरक्षाका लागि खतरा बने भने तिनीहरूलाई कब्जा गर्ने संकटकालीन योजना हो । सेप्टेम्बर ११ भन्दा पहिले नै पाकिस्तानका लूज न्युक्स अमेरिकाको सुरक्षाको प्रमुख चिन्ता भएको बताइन्छ ।

अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीको २०२५ रिपोर्टका अनुसार, पाकिस्तान आफ्नो आणविक भण्डार आधुनिक बनाइरहेको छ र युद्धमैदानमा प्रयोग हुने साना हतियारहरू विकास गरिरहेको छ । त्यसले भारतीय परम्परागत सेनाविरुद्ध छोटो दूरीमा आक्रमण गर्न सक्नेछ ।

यस रणनीतिक प्रतिरोधबाट सामरिक प्रयोगतर्फको खतरनाक परिवर्तन हो जसले भविष्यमा भारत र पाकिस्तानबीच तनाव बढाउन सक्छ ।

पाकिस्तान साँच्चै यस्ता हतियार विकास गरिरहेको छ भने तिनको विश्वसनीयता परीक्षण अनिवार्य हुन्छ । तर, परीक्षणको कुनै प्रमाण छैन । त्यसैले पाकिस्तानले कसरी आफ्नो नयाँ हतियार प्रणालीको विश्वसनीयता सुनिश्चित गर्छ भनी विज्ञहरू चकित छन् ।

ट्रम्पको दाबी अप्रमाणित भए पनि यसले रहस्यमा नयाँ तह थप्छ । उनले भनेअनुसार, पाकिस्तानले गोप्य रूपमा परीक्षण गर्न सक्छ भन्ने संकेतले पाकिस्तानकै परीक्षण निषेध नीतिसँग र अमेरिकी नियन्त्रणको दाबीसँग विरोधाभास देखाउँछ ।

यस्तै भनाइहरूले ट्रम्पका आफ्नै आणविक परीक्षणका सम्भावित योजनालाई पनि राजनीतिक वैधता दिने प्रयास गर्छन् ।
ट्रम्पको टिप्पणीको महत्त्व उनको भनाइभन्दा बढी के कुरा अझै लुकेका छन् भन्नेमा निहित छ ।

सन् १९९८ देखि पाकिस्तानको आणविक कार्यक्रम रहस्यमय पर्दाभित्र चलिरहेको छ । परीक्षण इतिहास, नियन्त्रण प्रणाली र आधुनिकीकरण योजनासम्म सबै गोप्य छन् ।

यो रहस्यको पर्दा अझै खुलेको छैन ।