पेरुकी पूर्व प्रधानमन्त्री मेक्सिको दूतावासमा लुक्न गएपछि दुई देशबीच कूटनीतिक तनाव

329
Shares

एजेन्सी । पेरुले मेक्सिकोसँगका कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ ।

पेरुकी पूर्वप्रधानमन्त्री बेट्सी चाभेजले देशभित्रै रहेको मेक्सिकन दूतावासमा शरण लिएपछि यो निर्णय आएको हो ।

पेरुका विदेशमन्त्री हुगो दे जेलाले सोमबार पत्रकारहरूलाई जानकारी दिँदै यो शत्रुतापूर्ण कार्यको प्रतिक्रियास्वरूप र हालैका समयमा मेक्सिकाका पूर्व राष्ट्रपतिहरूले बारम्बार पेरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पृष्ठभूमिमा पेरु सरकार आजदेखि मेक्सिकोसँगका कूटनीतिक सम्बन्ध तोड्ने निर्णयमा पुगेको बताए ।

चाभेज पूर्वराष्ट्रपति पेद्रो कास्तिलोको सरकारमा थिइन् । कास्तिलोले सन् २०२२ मा संसद् विघटन गर्ने प्रयासमा संलग्न रहेको आरोपमा फौजदारी मुद्दा खेपिरहेका छन् । कास्टिलो त्यसबेला पदच्युत भएका थिए र अहिले पनि नजरबन्दमा छन् ।

चाभेजलाई सन् २०२३ को जुन महिनामा जेल चलान गरिएको थियो तर सेप्टेम्बर २०२४ मा एक न्यायाधीशले उनको मुद्दा चलिरहेका बेला जमानतमा रिहा गरेका थिए ।

उनका वकिल राउल नोबलेसिलाले रेडियो आरपीपीसँग कुरा गर्दै केही दिनदेखि उनीसँग सम्पर्क नभएको र उनले शरण मागेको नमागेको पनि थाहा नभएको बताए ।

अभियोजन पक्षका अनुसार, कास्टिलोले संसद् भंग गर्ने प्रयासका क्रममा चाभेजले दूतावासमा शरण लिन खोजेकी थिइन् ।

चालकले दिएको बयानअनुसार, चाभेजले उक्त समयमा उनलाई मेक्सिकन दूतावाससम्म लैजान आदेश दिएकी थिइन् । तर, पछि उनी आफ्नो कार्यालय फर्किएकी थिइन् ।

चाभेजले यो आरोप अस्वीकार गर्दै दूतावास पुग्ने प्रयास नगरेको र कास्तिलोको योजनाबारे पनि आफूलाई थाहा नभएको दाबी गरेकी थिइन् ।

अभियोजन पक्षले उनका विरुद्ध २५ वर्षको कैद सजायको माग गरेको छ ।

यस प्रकरणले पेरु र मेक्सिकोबीचको सम्बन्धलाई झनै तनावपूर्ण अवस्थामा पु‍र्याएको छ ।

पेरुले अघिल्ला केही वर्षदेखि नै मेक्सिकोका नेताहरू, विशेषगरी राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्रादोरमाथि पेरुको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ ।

मेक्सिकोको विदेश मन्त्रालयले भने यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।