उग्रवादीको दबाबपछि बंगलादेशको प्राथमिक विद्यालयमा संगीत र शारीरिक शिक्षा बन्द

392
Shares

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले इस्लामी समूहहरूको लगातार दबाबपछि सरकारी प्राथमिक विद्यालयहरूमा संगीत र शारीरिक शिक्षाका शिक्षक पदहरू खारेज गरेको छ ।

यी समूहहरूले उक्त पहललाई इस्लामविरुद्धको कार्य भनेर आलोचना गर्दै आएका थिए । यो निर्णय नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अघि बढाइएका शैक्षिक सुधार योजनाबाट पछि हटेको रूपमा हेरिएको छ । सुधार योजनाले धार्मिक र शैक्षिक अध्ययनसँगै सांस्कृतिक शिक्षालाई प्रोत्साहन गर्न चाहेको थियो ।

बंगलादेशको प्राथमिक तथा जनशिक्षा मन्त्रालयले सोमबार नयाँ नियमावली जारी गर्दै नयाँ शिक्षक नियुक्ति नियममा संगीत र शारीरिक शिक्षा सहायक शिक्षकका पदहरू समावेश नहुने जानकारी दिएको छ ।

‘गत अगस्ट महिनामा जारी गरिएका नियममा चारवटा श्रेणीका पदहरू थिए तर संशोधित नियममा दुई श्रेणी मात्र राखिएका छन्,’ मन्त्रालयका अधिकारी मसुद अख्तर खानले बताए, ‘संगीत र शारीरिक शिक्षाका शिक्षक पदहरू हटाइएका छन् ।’

निर्णय धार्मिक दबाबका कारण गरिएको हो भनी पत्रकारहरूले सोध्दा खानले यसबारे केही नभन्ने भन्दै स्वयं जाँच गर्न सुझाव दिए ।

महिनौंदेखि इस्लामी समूहहरूको विरोधपछि यो निर्णय आएको हो । ती समूहहरूले सरकारको संगीत र नृत्य शिक्षा कार्यक्रमलाई इस्लामविरोधी एजेन्डा भनेका थिए ।

प्रदर्शनमा संलग्न प्रमुख समूहहरूमा जमात–ए–इस्लामी, इस्लामी आन्दोलन बंगलादेश, खिलाफत मजलिस र हिफाजत–ए–इस्लाम पर्छन् ।

गत सेप्टेम्बर महिनामा भएको एक प्रदर्शनमा इस्लामी आन्दोलन बंगलादेशका प्रमुख सैयद रेजाउल करिमले भनेका थिए, ‘तपाईं संगीत शिक्षक नियुक्त गर्न चाहनुहुन्छ ? उनीहरूले के पढाउने ? तपाईं हाम्रा बालबच्चालाई अनादरपूर्ण, बिग्रेको र चरित्रहीन बनाउन चाहनुहुन्छ ? हामी त्यस्तो कहिल्यै सहनेछैनौं ।’

सरकारले माग नसुनेमा इस्लामप्रेमी जनता सडकमा उत्रिने उनले चेतावनी दिएका थिए ।

इस्लामी नेताहरूले संगीत र नृत्य शिक्षालाई नास्तिक दर्शनसँग जोडिएको षड्यन्त्र भन्दै विरोध गरेका थिए । सरकारले धार्मिक शिक्षकहरू मात्र नियुक्त गर्नुपर्ने माग उनीहरूले गरेका थिए र सरकारले माग नसुनेमा ठूलो आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

युनुस नेतृत्वको अन्तरिम सरकार धार्मिक उग्रवादीसामु झुकेको भन्दै आलोचना भइरहेको छ ।

निवर्तमान प्रधानमन्त्री शेख हसिनाको पालामा नियन्त्रणमा रहेका यी समूहहरू अहिले पुनः सशक्त र निर्भीक बनेका छन् र नीतिनिर्माणमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।

यिनै समूहहरूले हालै अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन) लाई कट्टरपन्थी संगठन भन्दै प्रतिबन्ध लगाउन माग गरेका थिए । यसअघि उनीहरूले महिला सुधार आयोगका सिफारिसहरू लागू भए हिंसा गर्ने धम्की पनि दिएका थिए ।

बंगलादेशमा इस्लामी समूहहरूको नीतिगत प्रभाव तीव्र रूपमा बढ्दै गएको यी पछिल्ला घटनाक्रमहरूले देखाउँछन् ।

कुनै समय धर्मनिरपेक्षताका साथै सांस्कृतिक र कलात्मक विरासतका लागि प्रसिद्ध देश अहिले क्रमशः धार्मिक रूढिवादतर्फ झुक्दै गएको देखिन्छ ।