इजरायली सेनाकी वकिल पक्राउ, संवेदनशील भिडियो लीक गरेको आरोप

413
Shares

एजेन्सी । एक हप्ता अघिसम्म मेजर जनरल यिफत टोमर–येरुशाल्मी इजरायली सेनाकी प्रमुख कानूनी सल्लाहकार थिइन् ।

तर, अहिले उनी जेलमा छिन् र देशलाई हल्लाइरहेको एउटा ठूलो विवादको केन्द्रमा परेकी छन् । यो विवाद उनको अनायासै आएको राजीनामा, छोटो समयका लागि हराएको घटना र तेल अभिभको समुद्री किनारामा उनलाई भेटिएपछि मात्रै समाप्त भएको हो ।

इजरायली सैनिकहरूले एक प्यालेस्टाइनी कैदीमाथि गरेको गम्भीर दुर्व्यवहारको भिडियो चुहाउन अनुमति दिएको टोमर–येरुशाल्मीले स्वीकारेकी छन् । उक्त भिडियो अनुसन्धानसँग सम्बन्धित थियो । भिडियोमा सैनिकहरूले एक प्यालेस्टाइनी कैदीमाथि गरेको यौन दुव्र्यवहारको केही भाग देखिन्छ ।

गत वर्ष यो भिडियो चुहाएर टोमर–येरुशाल्मीले आफ्नो कार्यालयबाट भइरहेको अनुसन्धान कति गम्भीर छ भनी देखाउन खोजेकी थिइन् । तर, उनलाई कठोर दक्षिणपन्थी नेताहरूबाट तीव्र आलोचना सहनुप‍र्यो । अन्ततोगत्वा, उनले राजीनामा दिइन् तैपनि उनीविरुद्ध व्यक्तिगत आक्रमण जारी रह्यो ।

राजीनामापछि उनले परिवारका लागि सानो नोट छोडिन् र आफ्नो गाडी समुद्र किनारामा छोडेर हिँडिन् । उनले आत्महत्या गरेको आशंका गरियो र सेनाका ड्रोनहरूसम्म प्रयोग गरी ठूलो खोज अभियान चलाइयो ।

तर, आइतबार राति उनी समुद्र किनारमै जीवित फेला परिन् । त्यसपछि पनि उनका विरोधीहरूले सामाजिक सञ्जालमा उनलाई कठोर गालीगलौज गरे ।

पछि उनको एउटा मोबाइल फोन हराएको खबर आयो । दक्षिणपन्थी नेताहरूले उनलाई आत्महत्याको नाटक गरेर प्रमाण नष्ट गर्न खोजेको आरोप लगाए ।

यस असामान्य घटनाबाट इजरायलमा दुई वर्षदेखि चलिरहेको युद्धले पहिलेबाटै विभाजित समाजलाई अझ एकताबद्ध गर्न नसकेको देखाउँछ । साथै, नेतन्याहु समर्थकहरूद्वारा प्रतिस्थापित गरिएका सुरक्षाका शीर्ष अधिकारीहरूको नयाँ उदाहरणका रूपमा टोमर–येरुशाल्मीलाई प्रस्तुत गरियो ।

सोमबार अदालतमा भएको सुनुवाइमा न्यायाधीशले उनलाई बुधबारसम्म हिरासतमा राख्ने आदेश दिएका छन् । उनीमाथि ठगी, विश्वासघात र न्यायमा बाधा पु‍र्याएको आरोपमा अनुसन्धान भइरहेको छ । अहिले उनलाई केन्द्रीय इजरायलको महिला जेलमा राखिएको छ ।

इजरायली मिडियाका अनुसार, पूर्व सैनिक अभियोजनकर्ता कर्नेल मातान सोलोमेशलाई पनि सोही भिडियो चुहावट मामिलामा पक्राउ गरिएको छ । प्रधानमन्त्रीको कार्यालयले यसबारे कुनै टिप्पणी गरेको छैन ।

भिडियो चुहावटमाथिको आक्रोशले इजरायलभित्रको गहिरो राजनीतिक विभाजन देखाएको छ । यसले अहिलेको ध्यान दुर्व्यवहारको आरोपभन्दा भिडियो चुहावटमै केन्द्रित बनाएको छ ।

आरोपअनुसार, प्यालेस्टाइनीहरूमाथिको आक्रमण सन् २०२४ जुलाई ५ मा स्दे तेमान सैन्य जेलमा भएको थियो । एपीको अनुसन्धानले त्यस जेलमा यसभन्दा पहिले पनि कैदीहरूमाथि अमानवीय व्यवहार भएको प्रमाण पाएको छ ।

भिडियोमा सैनिकहरूले एक कैदीलाई घेरेको ठाउँमा लैजाँदै दुर्व्यवहार गरेको देखिन्छ । अभियोगपत्रमा सैनिकहरूले प्यालेस्टाइनी कैदीमाथि आक्रमण गरी चक्कु प्रयोग गरेर यौन हिंसा गरेको र उनलाई गम्भीर चोटपटक पु‍र्याएको उल्लेख छ ।

उक्त घटनाबारे जानकार एक स्वास्थ्यकर्मीले नाम नखुलाउने सर्तमा कैदीलाई पेट र छातीमा गम्भीर चोट र भाँचिएका हड्डीहरूका साथ अस्पताल ल्याइएको बताए । ‘उनको मलाशय छेडिएको थियो र शल्यक्रिया गरेर केही दिनपछि पुनः जेल फर्काइएको थियो,’ उनले थपे, ‘यो मैले देखेको सबैभन्दा चरम यातनाको घटना थियो ।’

सैनिक प्रहरी ती सैनिकहरूलाई पक्राउ गर्न स्दे तेमान पुग्दा त्यहाँका प्रदर्शनकारीहरूसँग झडप भएको थियो । पछि सयौं भीड जेलभित्रै पसेर तोडफोडमा उत्रिएका थिए ।

दुर्व्यवहारको प्रमाण देखाएर सेनाले आफ्नै सैनिकमाथि अन्याय गरेको भन्ने भ्रम तोड्न खोजेको राजीनामा पत्रमा टोमर–येरुशाल्मीले लेखेकी थिइन् ।

‘कुनै कैदीमाथि हिंसा भएको शंका लागेपछि अनुसन्धान गर्ने हाम्रो कर्तव्य हो । दुर्भाग्यवश, जस्तोसुकै खराब कैदी भए पनि कतिपय कामहरू गर्न मिल्दैन भनी सबैलाई बुझाइराख्न कठिन भएको छ,’ उनले लेखेकी थिइन् ।

भिडियोमा देखिएका प्यालेस्टाइनी कैदीलाई गत महिना बन्दी र कैदीहरूको साटासाट कार्यक्रम अन्तर्गत गाजा फर्काइएको थियो ।

यो केस अझै सैनिक अदालतमा चलिरहेको छ ।