कम्युनिस्ट जोहरान मामदानीलाई भोट दिएमा न्युयोर्क डुबाइदिन्छन् : ट्रम्प

469
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले न्युयोर्क सिटीका मेयरका रूपमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व न्यूयोर्क गभर्नर एन्ड्रु कुओमोलाई समर्थन गरेका छन् ।

उनले मतदाताहरूलाई वामपन्थी डेमोक्य्राट उम्मेदवार जोहरान मामदानीलाई भोट नदिन आग्रह गरेका छन् ।

भारतीय मूलका ३४ वर्षे मामदानीले मंगलबार हुने मेयरको चुनाव जिते भने त्यो शहरमा पूर्ण आर्थिक र सामाजिक विनाश आउने भन्दै न्युयोर्कमा जन्मिएका ट्रम्पले चेतावनी दिएका छन् ।

मामदानी विजयी भए भने आफूले न्युयोर्क सिटीका लागि संघीय सहयोग न्यूनतम मात्र राख्ने ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

उनले मामदानीलाई कम्युनिस्ट भन्दै आलोचना गरेका छन् । मामदानी आफूलाई लोकतान्त्रिक समाजवादी भन्छन् ।

‘कम्युनिस्ट उम्मेदवार जोहरान मामदानी न्युयोर्क सिटीका मेयर बने भने मैले आफ्नो पहिलो प्रिय घरका लागि कानूनी रूपमा आवश्यक बाहेक संघीय सहयोग दिने सम्भावना अत्यन्तै न्यून छ किनकि कम्युनिस्टको नेतृत्वमा यो शहर सफल हुने त परै जाओस् बाँच्ने सम्भावना पनि छैन,’ ट्रम्पले लेखे ।

‘कम्युनिस्ट नेताको नेतृत्वमा कुरा थप बिग्रिन्छ । म राष्ट्रपतिको रूपमा राम्रो पैसा खराबमा फ्याँक्न चाहन्नँ । देश चलाउने मेरो कर्तव्य हो र मामदानीले जिते भने न्युयोर्क सिटी पूर्ण आर्थिक र सामाजिक विनाशमा परिणत हुने मेरो ठोस विश्वास छ । उनका सिद्धान्तहरू हजारौं वर्षदेखि असफल हुँदै आएका छन्,’ ट्रम्पले लेखे ।

मंगलबार हुने न्युयोर्क सिटी मेयर निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले आफ्ना पुराना प्रतिद्वन्द्वी एन्ड्रु कुओमोलाई समर्थन जनाएका छन् ।

‘सफल रेकर्ड भएका डेमोक्य्राट जितेको म हेर्न चाहन्छु, अनुभवहीन र असफल कम्युनिस्ट होइन । मामदानी विधानसभा सदस्य हुँदा कमजोर प्रदर्शनकारी थिए । सम्भावित रूपमा संसारकै महान् शहरको मेयरका रूपमा उनीसँग त्यसलाई पुनः गौरव दिलाउने कुनै क्षमता छैन,’ ट्रम्पले भने ।

ट्रम्पले रिपब्लिकन उम्मेदवार कर्टिस स्लीवामाथि पनि कठोर टिप्पणी गरेका छन् । ‘कर्टिस स्लीवालाई भोट दिनु मामदानीलाई भोट दिएबराबर हो । तपाईंलाई कुओमो मन परे पनि नपरे पनि अर्को विकल्प छैन । तपाईंले उनलाई नै भोट दिनुपर्छ र उनले राम्रो काम गर्ने आशा गर्नुपर्छ । उनी सक्षम छन्, मामदानी छैनन्,’ उनले भने ।

उता कुओमोले ट्रम्पको समर्थनलाई हलुका रूपमा लिएका छन् । ट्रम्पले आफूलाई मन पराएर भन्दा पनि मामदानीको विरोध गर्नका लागि मात्र आफूलाई समर्थन गरेको उनको भनाइ छ ।