के साउदी अरबले विश्वकप फुटबलका लागि गगनचुम्बी भवनको टुप्पोमा विशाल रंगशाला बनाउँदैछ ?

1.2k
Shares

एजेन्सी । केही दिनयता सामाजिक सञ्जालहरूमा एउटा फोटो र भिडियोले चर्चा पाएको छ- जसमा एक गगनचुम्बी भवनको चुचुरोमा बनेको फुटबल रंगशाला देखाइएको छ । साथै यो सउदी अरबमा हुने सन् २०३४ को फिफा विश्वकपका खेलहरूका लागि बनाइने रंगशालामध्ये एक हुने दाबी गरिएको छ।

करिब १ अर्ब अमेरिकी डलर लागतमा ४६ हजार दर्शक क्षमता भएको, जमिनदेखि ३५० मिटर (१,१५० फिट) माथि एक विशेष रूपमा बनाइने गगनचुम्बी भवनको टुप्पोमा निर्माण गरिने उक्त रंगशालाको अवधारणा देखाउने फोटो र छोटो भिडियोले अहिले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि समाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

तर यो भिडियो कसले बनायो र सुरुमा कोले साझेदारी गर्‍यो भन्ने कुरा अझै स्पष्ट छैन । भिडियोले इन्टरनेटमा निकै उत्साह पैदा गरेको छ तर धेरै प्रश्नहरू पनि उठाएका छन् । के यो भवन सुरक्षित र इन्जिनियरिङ दृष्टिले सम्भव छ ? खेलपछि लिफ्टको लाइन कति लामो हुनेछ ? के यसलाई जानाजानी आइ अफ सरन जस्तो देखिने गरी डिजाइन गरिएको हो ?

भिडियोले धेरैलाई भविष्यको झल्को देखाएको हुन सक्छ, तर वास्तविकता के हो भने यो साइन्स फिक्सन अर्थात् काल्पनिक कलाकृति मात्र हो । अर्थात फोटो भिडियोमा देखाइए जस्तो रंगशाला बन्दै छैन ।

यो भिडियो दुई हप्ता अघि मात्र ३४ वर्षीय लियाम होव्सले बनाएका थिए । जो ईष्ट ससेक्समा बस्छन् । र सुत्ने क्रममा आफ्नो फोनमा यो भिडियो तयार पारेका थिए ।

उनीले यो भिडियो आफ्नो ‘Hypora Ultraworks‘ फेसबुक पेजमा पोस्ट गरेका थिए । जसले ठूलो मात्रामा ध्यान खिच्यो र विश्वव्यापी रूपमा फैलियो।

लियामले यस महिनाको सुरुदेखि यो खाता सुरु गरेका हुन् । जहाँ उनी नियमित रूपमा ठूला डिजाइनका अवधारणात्मक क्लिपहरू पोस्ट गर्छन् र यसलाई करिब ३५० मिलियन पटक हेरिएको छ । यद्यपि यस्तो लोकप्रियताका बाबजुद, सिफोर्ड निवासी लियामले फेसबुकबाट सामग्रीबाट कुनै पैसा कमाउन सकेका छैनन्।

उनीले डेलि मेल स्पोर्टसँग भने, ‘यो पागलपनजस्तो थियो । दुई हप्ता अघि म सुत्न बस्नुअघि फोनमा थिएँ र अचानक यो विचार मेरो दिमागमा आयो । मैले यो अवधारणा तुरुन्त तयार पारेँ र त्यसपछि तपाईंलाई थाहा नभइकन यो संसारभरि फैलियो । सुरुमै १३,००० जना मानिसहरूले यसलाई सेयर गरे र त्यसपछि यसलाई रोक्नै सकिएन ।’

यद्यपि वास्तविक योजना पनि कम रोचक भने छैन ।

वास्तविक रूपमा नेओममा बन्ने प्रस्तावित रंगशाला भने सन् २०३४ फिफा विश्वकपका लागि तयार गरिन लागेका १५ रंगशालामध्ये एक हो, जुन करिब एक वर्षअघि नै सार्वजनिक गरिएको हो । साउदीहरूले यसलाई ३५० मिटरको उचाइमा बनाउने योजना बनाएका छन् । किनभने यो ‘द लाइन’ नामक भविष्यका स्मार्ट, हरित सहरको हिस्सा हुनेछ जुन सन् २०४५ सम्म साउदी अरबको उत्तरपश्चिमी तबुक प्रान्तमा करिब १०० माइल लामो हुनेछ र पूर्ण रूपमा नवीकरणीय ऊर्जाबाट सञ्चालित हुनेछ।

४६ हजार दर्शक क्षमता भएको नेओम रंगशाला नेओम, साउदी खेल मन्त्रालय र पब्लिक इन्भेस्टमेन्ट फण्डको साझेदारीमा डिजाइन र निर्माण गरिनेछ । काम सन् २०२७ मा सुरु भई २०३२ मा सम्पन्न गर्ने योजना छ, अर्थात विश्वकप सुरु हुनुभन्दा दुई वर्षअघि ।

फिफाले सन् २०२४ नोभेम्बरमा प्रकाशित गरेको सउदी अरबको विश्वकप बिड बुक(पृष्ठ १०७) मा नेओम परियोजनालाई ‘विश्वकै सबैभन्दा अनौठो रंगशाला’ भनेर प्रस्तुत गरिएको थियो । प्रारम्भिक योजनामा यसलाई ‘आकर्षक चिनारी हुने भवन’ भनिएको छ, जुन ‘द लाइन’ को पहिलो जिल्लामा निर्माण हुनेछ । यो क्षेत्रमा कृत्रिम मरीनासहितको पूर्ण कार्यक्षम भाग तयार पार्ने योजना छ, जसले विश्वकपअघि नै सहरको नमुना प्रदर्शन गर्नेछ ।

योजनाअनुसार नेओम रंगशालालाई ‘द लाइन’ को अद्भुत उभिएको सहरको माथिल्लो भागमा समावेश गरिनेछ र यो ‘खेलकुदमा केन्द्रित इलाका’ को मुख्य केन्द्र हुनेछ । उक्त क्षेत्रमा विश्वकप फ्यान पार्क, होटल, अपार्टमेन्ट, विमानस्थल, अस्पताल र पूर्ण रूपमा विद्युतीय यातायात प्रणाली पनि रहनेछ ।

यद्यपि रंगशाला करिब १ हजार फिट उचाइमा हुनेछ, यो ‘द लाइन’ को पाँच तहको विशाल संरचनाको चौथो र पाँचौँ तहमा अवस्थित हुनेछ। त्यसैले यो कुनै एक्लो टावरजस्तो खतरनाक रूपमा हावामा झुन्डिएको हुने छैन ।

यदि यस हप्ताको भाइरल भिडियोले केही हासिल गरेको छ भने, त्यो हो — यसले साँचो सउदी योजनालाई अझ विश्वसनीय देखाएको छ । अब ३५० मिटर उचाइमा र १०० माइल लामो मेगासिटीको विचार पनि त्यति असम्भवजस्तो लाग्दैन ।

तर चाहे काल्पनिक उचाइमा रहेको रंगशाला होस् वा वास्तविक नेओमको, अन्ततः प्रश्न एउटै रहन्छ — खेलको समयमा यदि बल दर्शकदीर्घाबाट माथिबाट बाहिर उडेर तल झर्‍यो भने के होला? त्यो बल जमिनमा टर्मिनल भेगमा पुग्दा समात्न खोज्ने जो–कोही पनि साँच्चिकै साहसी कहलिनेछ।