
काठमाडौं । काठमाडौंबाट पूर्वी तराईलाई जोड्ने छोटो सडक बीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतका लागि जापान सरकारले अनुदान दिएको छ । उक्त अनुदानका लागि नेपाल सरकार र जापान सरकारबीच सम्झौता भएको छ ।
राजमार्गको क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गरेको हो ।
नेपाल सरकार र जापान सरकारबीच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थतिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको छ ।
अनुदान सहायता सम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरे।
अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरे ।
बर्दिबासदेखि धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको बीपी राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो । गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू क्षतिग्रस्त भएका थिए । रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा क्षति भएका छन् ।
अनुदान सम्झौतापछि अर्थ मन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गरे । उनले जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । अर्थमन्त्री खनालले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको पनि बताए ।
नेपालका लागि जापानी राजदुतले जापानले प्रदान गरेको यो अनुदान सहयोगले वि.पी. राजमार्गका क्षतिग्रस्त भागहरू पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे।







प्रतिक्रिया