मोन्था आँधी वीरगञ्जबाट नेपाल छिर्‍यो, साँझ चक्रबातको केन्द्रबिन्दु पसेसँगै भीषण वर्षा: मौसमविद् उपाध्याय

13.3k
Shares

काठमाडौं । बंगालको खाडीको अण्डमान सागरबाट सुरू भएको मोन्था आँधी नेपाल प्रवेश गरेको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बिहीबार दिउसो मोन्था मधेश प्रदेशको वीरगञ्जबाट नेपाल प्रवेश गरेको हो ।

आज बिहानबाट सुरू भएको वर्षा मोन्था नामक आँधीको प्रभाव भन्दा पनि हिजो अस्तिदेखि सक्रिय पश्चिमी वायुको कारण भएको उपाध्यायको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ ।

मोन्था आँधीको प्रभाव बिहीबार दिउँसोदेखि देखिन थालेको उनले बताए ।

‘मोन्था आँधी नेपाल प्रवेश गरेको छ,’ मौसमविद् उपाध्यायले क्लिकमान्डुसँग भने, ‘त्यसको प्रभावस्वरुप मधेश प्रदेशको वीरगञ्जदेखि सर्लाहीसम्म पानी पर्न थालेको छ ।’

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १ घण्टामा वीरगञ्जमा २.२ मिलिलिटर पानी परेको छ भने रौतहटको रमौली बरैया जलमापन केन्द्रका अनुसार पछिल्लो १ घण्टामा ६.२ मिलिमिटर वर्षा मापन भएको छ ।

मोन्था चक्रबातको केन्द्रबिन्दु भने साँझमात्र नेपाल प्रवेश गर्ने उनले बताए । त्यसपछि भीषण वर्षाको सम्भावना रहेको उपाध्याय बताउँछन्।

‘मोन्था नेपाल प्रवेश गरेको छ तर मोन्था चक्रबातको केन्द्रबीन्दु बिहीबार साँझ ६ बजे आसपास नेपाल प्रवेश गर्छ र त्यसपछि ठूलो पानी पर्ने सम्भावना हुन्छ,’ उनले भने ।

यसले मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा र उपल्लो (३५०० मिटरभन्दा अग्लो) भू-भागमा भारी हिमपात गराउने छ । उपाध्यायले बिहीबार र शुक्रबार यात्रा नगर्न अनुरोध पनि गरेका छन् । साथै बिहीबार दिउँसोदेखि हवाई सेवा पनि प्रभावित हुन सक्ने अनुमान उनको छ ।

उपाध्यायका अनुसार अहिले अरब सागरमा नयाँ प्रणाली विकास भएको छ । ‘हाल पश्चिमी वायुको प्रभाव देखिएको छ । अरब सागरमा नयाँ प्रणाली र मोन्थाका कारण नेपाली आकाशमा लो प्रेसर जोन सिर्जना भएको छ । यसले पश्चिमी वायुको प्रभाव झनै धेरै हुने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

मोन्था र पश्चिमी वायुको प्रभाव एकैपल्ट रहे गत वर्ष असोज १२ र १३ गतेको भन्दा ठूलो पानी पर्ने आकलन उपाध्यायको छ । ‘यस्तो हुने सम्भावना ५ प्रतिशत थियो, हालसम्मको स्थिति हेर्दा सम्भावना झन् बढेको छ, यद्यपि हामी नियमित अध्ययनमा छौं भरेसम्म के हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ।’

आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको छ । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।

बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ ।

त्यसैगरी धान काट्ने समय रहेकाले काटन् बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न मौसमविद्ले सुझाव दिएका छन् । भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको उनी बताउँछन् ।

मोन्था भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो । बिहार आइपुग्दा मोन्था बंगालको खाडीबाट भारत प्रवेश गरेको बेलाभन्दा निकै कमजोर भएको छ ।

मोन्थाको बाँकी प्रभावस्वरूप अहिले भारतका दक्षिक राज्यहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबार र शुक्रबार बिहार, झारखण्ड, पूर्वी मध्य प्रदेश, छत्तीसगढमा भारी वर्षा हुनेछ ।

पटना मौसम केन्द्रले बिहारका २५ जिल्लामा २ दिन भारी वर्षा हुने चेतना दिइसकेको छ ।

Skip This