देउवा दम्पती किन जान लागे सिंगापुर ?

238
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जाने भएका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

देउवा निकट स्रोतका अनुसार आज राति ९ बजे पत्नी आरजु राणासहित उनी सिंगापुर प्रस्थान गर्न लागेका हुन् ।

तर, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने उपचारका लागि सिंगापुर जान लागेको भए पनि दिन भने खुलाएनन् । ‘उपचारको लागि सभापतिज्यू सिंगापुर जाने तयारीमा हुनुहुन्छ । केही दिनमै प्रस्थान गर्नुहुन्छ,’ महतले भने ।

जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरी उनलाई सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थियो । उनको टाउकोमा चोट लाग्दा १२ वटा टाँका लगाइएको बताइएको छ।

घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए । उक्त बैठकमा सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।