
विराटनगर । सुपारी र मरिचसँगै छोकडाको आयातमा अघिल्लो सरकारले प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय सुपारी र मरिचको आयात खुला भए पनि छोकडाको आयातमा सरकारको प्रतिबन्ध अझै कायमै छ । तर बजारमा भने आवश्यकता भन्दा बढी छोकडा उपलब्ध छ ।
विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार, तस्करीमार्फत भित्रिएको छोकडाले पूर्वका बजारहरू भरिएका छन् । ‘छोकडा आयातमा अझै प्रतिबन्ध छ, तर तस्करीमार्फत बजारमा ठूलो परिमाणमा प्रवेश गरेको देखिन्छ ।’
व्यापारी राम सुवेदीका अनुसार, आवश्यकता भन्दा बढी छोकडा उपलब्ध भएकै कारण यस वर्ष यसको मूल्य घटेको छ । विगतमा प्रतिकिलो पाँच सय रुपैयाँ पर्ने छोकडा अहिले गुणस्तर अनुसार अढाई सयदेखि चार सय रुपैयाँमा छेलोखेलो बिक्री भइरहेको छ । सुवेदीले भने, ‘आयातमा प्रतिबन्ध कायमै छ भन्ने सुनेका छौं, तर बजारमा आवश्यकता भन्दा बढी छोकडा उपलब्ध छ, जसले मूल्य घटाएको हो ।’
ड्राइफ्रुट (सुकुटीजन्य वस्तु) तस्करीबाटै भित्रिँदै आएको स्पष्ट देखिन्छ । तर सुरक्षा निकाय त्यसको नियन्त्रणमा मौन देखिन्छ ।
प्रतिबन्धित छोकडामात्र होइन, आयात खुला भएका काजु र किसमिस पनि भन्सार नाकाबाट न्यून मात्रामा मात्र आएको भन्सार तथ्याङ्कले देखाउँछ । तर बजारमा भने काजु, किसमिस र छोकडाको बाढी छ ।
भन्सार प्रमुख श्रेष्ठका अनुसार, ‘तिहारमा बढी खपत हुने सबै सामान तस्करीमार्फत भित्रिँदा भन्सार नाका सुनसान बनेको छ ।’
उनका अनुसार, तिहारमा प्रयोग हुने झिलिमिली बत्ती पनि विराटनगर नाकाबाट आयात शून्य छ, तर बजार झिलिमिली बत्तीले भरिएको छ । ‘वीरगञ्ज नाकाबाट आयात भएको बत्तीले मात्रै विराटनगर र कोशीका बजार धान्न सक्दैन,’ उनले थपे, ‘त्यसको पनि तस्करी अत्यधिक भएको देखिन्छ ।’
भन्सारको तथ्याङ्क अनुसार, विराटनगर नाकाबाट केही मात्रामा मात्र काजु, सुकुमेल र नरिवल आयात भएको छ ।
आर्थिक वर्षको साउनयता २ हजार किलो काजु आयात भएको छ, जुन गत वर्षको ५४ हजार ६ सय १० किलोको तुलनामा ९६ प्रतिशतले घटेको हो ।
सुकुमेलको आयात भने करिब ११ प्रतिशतले बढेको छ । गत वर्ष १ हजार ९८० किलो हुँदा यो वर्ष २ हजार १९७ किलो पुगेको छ।
त्यस्तै, गत वर्ष १ लाख ५ हजार २०२ किलो अगरबत्ती आयात भएकोमा यो वर्ष घटेर ४३ हजार ७५९ किलोमा सीमित भएको छ । यो गत वर्षकोभन्दा करिब ५८ प्रतिशतले कमी ।
फलफूलतर्फ भने आयात वृद्धि भएको छ ।
गत वर्ष ११ हजार २० किलो सुन्तला आयात भएकोमा यो वर्ष ३२ हजार ३२० किलो पुगेको छ जुन करिब १९३ प्रतिशत वृद्धि हो ।
स्याउ र नासपातीको आयात पनि ११ लाख ७० हजार ४८९ किलोबाट बढेर ३५ लाख ६३ हजार ३५४ किलो पुगेको छ जुन करिब २०४ प्रतिशत वृद्धि हो ।
नरिवलको आयात पनि २० हजार ८० किलोबाट बढेर २६ हजार ३९५ किलो पुगेको छ जुन करिब ३१ प्रतिशतले बढी हो ।
तिहारमा बढी प्रयोग हुने मैनबत्तीको आयात भने घटेको छ । गत वर्ष २८५ किलो मैनबत्ती आयात भएकोमा यो वर्ष घटेर १९० किलो मात्र आएको छ ।
‘सरकारले जस वस्तुमा प्रतिबन्ध लगाउँछ, त्यही सामान बजारमा झन् बढी मात्रामा उपलब्ध हुन्छ । तस्करीबाट भित्रिएकाले भन्सार, भ्याट र अन्तशुल्क नतिरेर सस्तोमा बेचिन्छ,’ एक व्यवसायीले भने।







प्रतिक्रिया