
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद र नेतृत्वबारे निर्णय फेसबुक वा बाहिरी हल्लाले नभइ पार्टीको केन्द्रीय कमिटीले गर्ने स्पष्ट पारेका छन् ।
बुधबार सुरु भएको एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अध्यक्षले छोड्नुपर्छ भन्ने कुरा सुन्छु, तर मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यही केन्द्रीय कमिटीले निर्धारण गर्छ । यही पंक्तिको आदेशमा जुनसुकै कुरा हुन्छ।’
ओलीले पार्टीभित्रका विषय बाहिर गएर अखबारबाजी गर्ने प्रवृत्तिको आलोचना गर्दै भने, ‘कतिपय साथीहरूले मलाई बोकेर हिँड्नुपर्ने भन्ने सुनिन्छ, तर म आफैं हिँड्न सक्छु, किन बोक्नुपर्ने ?’
उनले पार्टी र पद दुवैबाट हट्ने पनि एक प्रक्रिया हुने स्मरण गराउँदै भने, ‘अझै सप्रिनुपर्ने ओली भन्छन् रे । बिग्रेको भए पो सप्रिनु ! के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिनु बिग्रिनु हो ? हो भने केपी ओलीले छोड्दैन ।’
ओलीले पार्टीभित्र कुरा नगरी बाहिर विरोधीका लहैलहैमा लाग्ने र हल्ला फैलाउनेहरू नै सप्रिनुपर्ने बताए ।







प्रतिक्रिया