विचार

नेपाली राजनीतिलाई रिजिलिएन्सको दृष्टिबाट हेर्दा

224
Shares

नेपालमा २०८२ भाद्र २३ र २४ को जेन–जी आन्दोलनले तत्कालीन सत्ता परिवर्तन गरायो । सार्वजनिक सम्पत्ति लगायत नेताहरूका व्यक्तिगत घर र व्यवसायमा लुटपाट, तोडफोड र आगजनी भयो । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत केही नेताहरू आन्दोलनकारीको आक्रोशमा भौतिक आक्रमणमा पनि परे । नेताहरूको भागाभाग भयो । सरकार छाडेर मात्र पनि पुगेन, सुरक्षित हुन नेपाली सेनाको ब्यारेकभित्र बस्नु पर्‍यो । भाद्र २४ को अवस्था हेर्दा लाग्थ्यो, अब यी नेताहरू राजनीतिमा चाँडै नफर्केलान् ।

तर भाद्र २४ पछि नयाँ सरकार गठन भएसँगै राजनीतिक दलका नेताहरू फेरि समेटिँदै आफ्ना राजनीतिक गतिविधिमा सक्रिय हुन थाले ।

यो साहस र क्षमता यी नेताहरूमा यति छिट्टै कसरी आउन सक्यो ? यसलाई विभिन्न पाटोबाट विचार–विमर्श गर्न सकिन्छ । यसै सन्दर्भमा यस लेखमा नेपाली राजनीतिका महत्वपूर्ण घटनाहरूलाई रिजिलिएन्सको दृष्टिबाट हेर्ने प्रयास गरिएको छ ।

रिजिलिएन्स शब्दको प्रयोग र परिभाषा
नेपालमा पछिल्लो दशकमा ‘रिजिलिएन्स’ शब्द व्यापक रूपमा प्रयोग हुन थालेको छ । विशेषगरी २०७२ सालको भूकम्पपछि विपद् व्यवस्थापन, जलवायु परिवर्तन, सामाजिक पुनःस्थापना तथा विकास निर्माणका योजनाहरूमा यो शब्दको प्रयोग भएको पाइन्छ ।

भूकम्पपश्चात् रिजिलिएन्सलाई ‘विपद्का बेला टिक्न सक्ने र विपद्पछि उठ्न सक्ने क्षमता’ को रूपमा बुझिन्थ्यो । अहिले यसलाई नेपालीमा ‘लचिलोपन’ ‘उत्थानशीलता’ र ‘सहनशीलता’ जस्ता शब्दहरूले अथ्र्याइने गरिन्छ । यस सम्बन्धी बुझाइ कतिपय व्यक्ति र परिवेशअनुसार फरक–फरक पनि हुन सक्छ ।

अध्ययनहरूका अनुसार रिजिलिएन्स केवल संकटपश्चात् उठ्ने क्षमता मात्र होइन; यसले अनुकूलन (एडाप्टेसन), पुनर्संरचना (रिइस्ट्रक्चरिङ) र नवप्रवर्तन (इनोभेसन) गर्ने क्षमतासमेत समेट्छ ।

नेपाली राजनीतिका महत्वपूर्ण घटनाक्रम र नेताहरूको लामो राजनीतिक जीवनयात्रा हेर्दा रिजिलिएन्सको अर्थ र अवधारणा अझ सहज रूपमा बुझ्न सकिन्छ । लामो संघर्ष, बारम्बार असफलता, आलोचना र पटक–पटकका आन्दोलनमा धक्का खाँदा पनि पुनः उठ्ने र सक्रिय हुने क्षमताले नेताहरूको राजनीतिक यात्रा दशकौंदेखि निरन्तर जारी छ ।

रिजिलिएन्सका प्रकार
रिजिलिएन्सका शारीरिक, मानसिक, सामाजिक, संरचनात्मक र प्रक्रियागत आयामहरूले कुनै पनि घटनाक्रमलाई यसको दृष्टिकोणबाट विश्लेषण गर्ने आधार प्रदान गर्छन् । यस लेखमा नेपालको राजनीतिलाई आफ्नै वा स्वयं (सेल्फ) र परिवेश वा सन्दर्भअनुसारको (कन्टेक्स्ट) रिजिलिएन्स गरी दुई दृष्टिकोणबाट संक्षिप्तमा हेरिएको छ ।

आफैं वा स्वयं व्यक्तिगत (सेल्फ) रिजिलिएन्स भन्नाले व्यक्ति वा समुदायले आफ्ना आन्तरिक स्रोत, साधन, क्षमता, आत्मबल र आत्मविश्वासको माध्यमबाट संकटको सामना गर्दै अगाडि बढ्न सक्ने क्षमतालाई जनाउँछ ।

उदाहरणका लागि, २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका समयमा गाउँ–गाउँमा र घर–घरमा सेल्फ रिजिलिएन्स देखियो । मानिसहरूले स्थानीय स्रोत र सामग्री प्रयोग गरेर आफ्ना घर पुनःनिर्माण गरे र एक–अर्कालाई सहयोग गर्दै तत्कालै सहज जीवनयापन गर्ने उपायको खोजी गरे ।

परिवेशअनुसारको (कन्टेक्स्ट) रिजिलिएन्स भन्नाले व्यक्ति, संस्था वा समुदायले बदलिँदो परिस्थितिसँग अनुकूलन हुँदै परिस्थिति अनुसार संकटको सामना गर्ने र पुनःसंरचना गर्न सक्ने क्षमतालाई जनाउँछ ।

२०७२ सालको भूकम्पपछि सरकारी स्तरमा सो परिवेशलाई अनुकूलन गर्न आवश्यक नीति–निर्माण र कार्यान्वयनमा ढिलाइ भयो, जसले सरकारको कन्टेक्स्ट रिजिलिएन्स कमजोर देखियो । यस्तै अवस्था कोभिड–१९ को समयमा पनि देखियो ।

राजनीतिक घटनाक्रममा रिजिलिएन्स दृष्टि
नेपालको राजनीति निरन्तर उतार–चढावले भरिएको छ । २००७ सालको क्रान्तिबाट सुरु भएको राजनीतिक परिवर्तनको यात्राले २०४६ सालको जनआन्दोलन, २०६२/६३ को दोस्रो जनआन्दोलन हुँदै गणतन्त्रको स्थापना र अहिलेको जेन–जी आन्दोलनसम्म उल्लेखनीय अस्थिरताका घुम्तीहरू पार गरेको छ ।

२०१७ सालमा पञ्चायत शासन सुरु भएपछि पञ्चायत विरोधी आन्दोलनमा संलग्न राजनीतिक कार्यकर्ताहरूले जेल, निर्वासन र यातना सहनुपर्‍यो । यो लामो आन्दोलनमा नेताहरूले सेल्फ रिजिलिएन्स प्रदर्शन गर्दै निरन्तर संघर्ष जारी राखे ।

अन्तर्राष्ट्रिय स्तरमा फैलँदै गएको बहुदलीय व्यवस्थाको सन्दर्भले कन्टेक्स्ट रिजिलिएन्स आन्दोलनको अनुकूल देखियो । २०४६ सालसम्म आइपुग्दा जनआन्दोलनमा विद्यार्थी, राजनीतिक कार्यकर्ता र नागरिकहरूमा देखिएको सेल्फ रिजिलिएन्सका कारण आन्दोलन सफल भयो ।

तर बदलिएको परिवेश अनुसार र जनताको परिवर्तनको चाहनालाई बहुदलीय व्यवस्थाको तत्कालीन सरकारले अनुकूलन गर्न नसक्दा कन्टेक्स्ट रिजिलिएन्स कायम हुन सकेन । २०५२ देखि एक दशकसम्म देश आन्तरिक द्वन्द्वको भुमरीमा पर्‍यो ।

बाह्र बुँदे सम्झौता मार्फत गरिएको शान्ति प्रक्रियाले तत्कालीन माओवादी र सरकारले बदलिएको परिवेशलाई अनुकूलन गर्दै संविधानसभा मार्फत नयाँ संविधान तयार गर्ने मुल सहमतिका आधारमा सो प्रक्रिया सफल भयो । यसमा अपनाइएको वार्ता र संवादको विधि एक–अर्कालाई तत्कालीन परिवेश (कन्टेक्स्ट) बुझाउन सफल साबित भयो ।

२०६२/६३ को दोस्रो जनआन्दोलनमा सडकमा दोस्रोपटक देखिएको विशाल जनसहभागितालाई सेल्फ रिजिलिएन्सको प्रतीक मान्न सकिन्छ । आन्दोलन सफल बनाउन दलहरूको सहकार्य, नागरिक समाजको सक्रियता र अन्तर्राष्ट्रिय समर्थनले कन्टेक्स्ट रिजिलिएन्सको बलियो उदाहरण प्रस्तुत गर्‍यो ।

२०७७ देखि २०८२ सम्म आउँदा संसद्‌ विघटन हुनु, अदालतको आदेशबाट पुनःस्थापना हुनु, पटक–पटक सरकार परिवर्तन हुनु, दलको गठबन्धन बन्ने र फुट्ने क्रम निरन्तर हुनु, भ्रष्टाचारका काण्ड सम्बोधन नहुनु, युवाको आवाजलाई उपेक्षा गर्नु लगायतका घटनाक्रमले सरकारले जनताको आकांक्षा र समयको मागसँग अनुकूलन गर्न सकेन । सरकारको कन्टेक्स्ट रिजिलिएन्स अत्यन्त कमजोर रह्यो ।

जेन–जी आन्दोलनका क्रममा तत्कालीन सरकार दुई दिन पनि टिक्न सकेन । यसले स्पष्ट सन्देश दियो— यदि नेताहरूले परिवेशअनुकूल परिवर्तनलाई सम्बोधन गर्न सकेनन् भने सरकारमा र समाजमा टिक्न अब सम्भव छैन । नेताहरूमा सेल्फ रिजिलिएन्सले मात्र पुग्दैन; राजनीति गर्नका लागि कन्टेक्स्ट रिजिलिएन्स कायम गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

नेताहरूको रिजिलिएन्स
नेपालको राजनीतिक यात्रामा नेतृत्व गरेका शीर्ष नेताहरूले देखाएका सेल्फ रिजिलिएन्स चर्चा गर्न लायक छन् । जेल जीवन भोग्नेदेखि पटक–पटक प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका नेताहरूका साझा गुण भनेको असफलता र आलोचनाबीच पुनः उठ्न सक्ने क्षमता हो ।

दशकौंदेखि नेतृत्वमा रहेका केही नेताहरूको सेल्फ रिजिलिएन्सले देखाउँछ कि उनीहरूसँग व्यक्तिगत र दलगत अस्तित्व कायम राख्ने क्षमता छ । तर यो देश र समाजको मागसँग मेल खाएको छैन । उनीहरूको सेल्फ रिजिलिएन्सको प्रयोग धेरैजसो आफ्नै दलभित्रको नेतृत्व सन्तुलनमा केन्द्रित रहेको छ । देशमा दीर्घकालीन सुधार वा नयाँ सोचको प्रवाह सिर्जना गर्ने समयको मागलाई अनुकूलन गर्न सकेका छैनन् । अर्थात् उनीहरूको कन्टेक्स्ट रिजिलिएन्स अत्यन्त कमजोर छ ।

राजनीतिबाट रिजिलिएन्सको सिकाइ
नेताहरूको दीर्घकालीन संघर्ष, असफलता र नयाँ परिस्थितिहरूको सामना गर्ने प्रयासले केही महत्वपूर्ण पाठ सिक्न सकिन्छ । नेताहरूमा सेल्फ रिजिलिएन्स स्पष्ट देखिन्छ । विरोध, आलोचना र चुनौतीका बीच पनि व्यक्तिगत रूपमा राजनीतिक यात्राको निरन्तरता पाँच दशकभन्दा बढी समयसम्म कायम राख्ने क्षमता सिक्न लायक छ ।

तर समयको माग र जनताको आवाजसँग अनुकूलन गर्ने कन्टेक्स्ट रिजिलिएन्स अत्यन्त कमजोर देखिन्छ । यसै कारण नेताहरू बारम्बार असफलता र आलोचनाको सिकार भएका छन् । जेन–जी आन्दोलनका क्रममा जनताका यीनै असन्तुष्टिहरू छरपस्ट रूपमा अभिव्यक्त भएका हुन् ।

यसले सिकाउँछ कि केवल संकटपछि उठ्न सक्ने व्यक्तिगत वा संस्थागत क्षमता पर्याप्त छैन; त्यस क्षमताले समाजमा समयानुकूल सकारात्मक परिवर्तन ल्याउनुपर्छ। संकटको सामना गर्दै देशलाई सुधार र समयको मागअनुसार परिवर्तनतर्फ अघि बढाउने शक्ति नै साँचो रिजिलिएन्स हो ।

नेताहरूको रिजिलिएन्सले यो पनि सिकाउँछ कि सेल्फ रिजिलिएन्स र कन्टेक्स्ट रिजिलिएन्सको संयोजनले मात्र दीगो र प्रभावकारी सफलता प्राप्त गर्न सम्भव हुन्छ ।

(त्रिभुवन विश्वविद्यालयबाट एम.फिल. गरेका भण्डारी एक गैर–सरकारी संस्थामा कार्यक्रम निर्देशक र अनुसन्धानकर्ताका रूपमा विगत १५ वर्षदेखि कार्यरत छन् ।)