हेलिकप्टरको यात्रु सेवामा सबैभन्दा अगाडि एयर डाइनेष्टी, पुछारमा मुस्ताङ

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको यात्रु कति ?


चार्टर उडानमार्फत यात्रु सेवा दिने भएकाले हेलिकप्टर कम्पनीले नेपालमा उद्धार उडानलाई जोड दिएका छन् । सञ्चालनमा रहेका हेलिकप्टर कम्पनीहरू दृश्यावलोकनसहित आकस्मिक प्रयोजनको लागि सेवा दिन्छन् ।

काठमाडौं । नेपालमा चार्टर उडानका विभिन्न १२ वटा हेलिकप्टर कम्पनीमध्ये सबैभन्दा धेरै यात्रु सेवा दिनेमा एयर डाइनेष्टी रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२५ को एक वर्षमा हेलिकप्टर उडान गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी यात्रु सेवा दिने एयर डाइनेष्टी छ ।

यो हेलिकप्टरले पछिल्लो एक वर्षमा २४ सय उडानबाट ७ हजार २९७ यात्रुलाई सेवा दिएको छ । २५ वर्षदेखि हेलिकप्टर उडान सेवा दिँदै आएको यो कम्पनीसँग ४ वटा हेलिकप्टर छन् ।

हेलिकप्टर उडानमा यात्रुसेवाका हिसाबले गत वर्ष सन् २०२५ मा सबैभन्दा बढी यात्रु उडाउने दोस्रोको सूचीमा कैलाश परेको छ । यो हेलिकप्टरले एक वर्षमा २ हजार २९६ उडानबाट ६ हजार ३२५ यात्रुलाई सेवा दिएको छ ।

कैलाशसँग ३ वटा हेलिकप्टर छन् । सन् २०२३ को मार्चदेखि सञ्चालनमा आएको यो कम्पनी पब्लिक भएसँगै लगानी विस्तार गर्न सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्दै छ । सम्भवतः सञ्चालनमा रहेकामध्ये यो वायुसेवा आईपीओमा जाने सबैभन्दा पहिलो कम्पनी हुँदै छ । आईपीओमा जाने आवश्यक तयारी गरेर अनुमतिको पर्खाइमा बसेको छ ।

यात्रु सेवाका हिसाबले पछिल्लो एक वर्षमा २ हजार ४१४ उडानबाट ६ हजार २४२ यात्रुलाई सेवा दिएर तेस्रोको सूचीमा हेलि एभरेष्ट छ । सन् २०२६ को डिसेम्बरदेखि सञ्चालनमा आएको हेलिकप्टर कम्पनीसँग पनि ३ वटा एयरबसका ए३५० बीथ्री हेलिकप्टर छन् । नेपालमा सञ्चालनमा रहेका सबै हेलिकप्टर एयरबसका ए३५० बीथ्रीकै हुन् ।

श्री एयरसँग भने एमआई १७ का ६ सहित ८ वटा हेलिकप्टर छन् । श्रीले पछिल्लो एक वर्षमा ५०८ वटा उडान मात्रै गरेको छ । यसबाट जम्मा १ हजार ५८७ जनालाई मात्रै हेलिकप्टर उडान सेवा दिएको छ ।

यात्रु उडानमा सबैभन्दा थोरैलाई सेवा दिनेमा मुस्ताङ हेलिकप्टर छ । यसले पछिल्लो एक वर्षमा २६२ उडानबाट जम्मा ६७२ यात्रुलाई मात्रै सेवा दिएको छ । सन् २०२१ को सेप्टेम्बरबाट सञ्चालनमा आएको यो कम्पनीसँग २ वटा हेलिकप्टर भए पनि सञ्चालनमा भने एउटा मात्रै छ ।

सञ्चालनमा रहेका हेलिकप्टर कम्पनी र यसका हेलिकप्टरको संख्या ।

नेपालमा सञ्चालित हेलिकप्टर मध्ये २ वटा हेलिकप्टर भएको अल्टिच्युडले ५ हजार ९५८, एउटा मात्रै हेलिकप्टर सञ्चालनमा रहेको मनाङले ५ हजार ५६६, दुई वटा हेलिकप्टर भएको फिस्टेलले ४ हजार ६९६ यात्रुलाई सेवा दिएका छन् ।

दुई वटा हेलिकप्टर भएको माउन्टेन हेलिकप्टरले ४ हजार २१६, दुई वटा हेलि भएको अर्को हेलिकप्टर कम्पनी प्रभुले ४ हजार १०८, चार वटा हेलि भएको सिम्रिकले २ हजार ८ सय र एक मात्रै हेलिकप्टर उडाइरहेको अन्नपूर्ण हेलिकप्टरले १ हजार ९६१ उडान गरेको पनि प्राधिकरणको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार गत वर्ष सन् २०२४ मा ५१ हजार यात्रुलाई सेवा दिएका हेलिकप्टर कम्पनीले यो वर्ष ५४ हजार ८२७ लाई सेवा दिएका छन् । सेवाका हिसाबले गत वर्ष भन्दा यो वर्ष सन् २०२५ मा ३ हजार १२२ यात्रु बढेका छन् । यो संख्या गत वर्षको तुलनामा ६ प्रतिशतले मात्रै बढी हो ।