पर्यटक बढाउन निजी क्षेत्रसँग सहकार्यको घोषणा गर्दै बाेर्डले सार्वजनिक गर्यो ‘टुरिजम इन्साइट्स’

77
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्‍याउने दाबो नेपाल पर्यटन बोर्डको छ ।

बोर्डले ‘पर्यटनको वर्तमान स्थिति र पुनर्रुत्थानका रणनीतिहरू’ विषयमा पर्यटनका विभिन्‍न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा टुरिजम् इन्साइट्स सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसन्धान विभागका अधिकृत कविन्द्र भट्टका अनुसार, प्रकाशनमा आगन्तुक संख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आय र प्रत्यक्ष विदेशी लगानीका तथ्यांकहरू समेटिएका छन् । साथै, संयुक्त राष्ट्र पर्यटन संगठन र विश्व यात्रा तथा पर्यटन परिषद् जस्ता अन्तर्राष्ट्रिय निकायका तथ्यांक र प्रवृत्तिहरू पनि समावेश गरिएको छ ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डको ‘टुरिजम इन्साइट्स’ले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्यांक र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । यसका साथै उनले हालको संकटपछि पर्यटन क्षेत्रको सुरक्षामा बोर्डले गरेका प्रयासहरू र नेपाललाई सुरक्षित गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत
गर्नका लागि चालिएका कदमहरूबारे जानकारी दिए ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्रसँगको सहकार्यमा थप समन्वय आवश्यक रहेको र सरकारलाई
पर्यटनको महत्वबारे थप प्रष्ट पार्नुपर्ने सुझाव दिएका छन् ।

बोर्ड सदस्य ऋषि भण्डारीले विगतका सरकारहरूले पर्यटनको उत्थानका लागि केही चासो दिएको
भए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको चिन्ता व्यक्त गरे।

पाटाका महासचिवसमेत रहेका बोर्ड सदस्य नरेन्द्र भट्टले संकटको समयमा दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नुपर्नेमा जोड दिए ।

बोर्ड सदस्यसमेत रहेका नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा)का अध्यक्ष कुमार थपलियाले भारतलगायत प्रमुख बजारमा प्रबर्द्धनका लागि बजेटमा कार्यालय खोल्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै र कानुनी चुनौतीका कारण
बोर्डले सबै काम प्रभावकारी रूपमा गर्न नसकेकोमा चिन्ता व्यक्त गरे ।