निर्वाचनका लागि सबै दल तयार, संसद पुनर्स्थापनाको कुरा एमालेले राष्ट्रपतिसँग गरेन, कसले के भने ?

8.1k
Shares

काठमाडौं । शुक्रबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरे । चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर राजनीतिक दलहरूबीच सरकारसँग आवश्यक संवाद नभएको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका दलका शीर्ष नेतासँग छलफल गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरे ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए । त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डीपी अर्याल र सह-महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी थिए । जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनील प्रजापति सहभागी थिए ।

कसले के भने ?
राष्ट्रपतिले एकदम छोटो कुरा गर्न बोलाएको भने तापनि मुलुक चुनावमय भएको बताएर सबैलाई आफ्नो कुरा राख्न भनेका थिए । उनले प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचन गरी दुई विकल्प हुँदा निर्वाचन गनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा कांग्रेस उपसभापति खड्काले सुरक्षाका घटनाहरू अझै पनि संवेदनशील भएकाले त्यसमा सरकारले सुरक्षाको प्रतिवद्धता दिनुपर्ने बताए । उनले निर्वाचन आयोगको कार्यतालिका माथि प्रश्न गरेनन् । त्यही भएर नेपाली कांग्रेसले निर्वाचनको विषमा छलफल सुरु नै गरिसकेको भनेपछि कांग्रेसको तर्फबाट सकारात्मक कुरा आएको छलफलमा सहभागी राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । समग्रमा का‌ग्रेसले नेताहरूलाई सुरक्षा दिनुपर्ने भन्दै सर्वपक्षीय कुरा गरेका थिए । कांग्रेसका तर्फबाट गगन बोलेनन् ।

त्यसपछि एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोले । शंकर पोखरेलले भने बोलेनन् । ईश्वर पोखरेलले पनि चुनावको मात्रै कुरा गरेका थिए । एमालेले बाहिर उठाइरहेको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने कुरा भने गरेन । पोखेरलले चुनावको मात्रै कुरा गरे । राष्ट्रपति कार्यालयका ती अधिकारीले भने, ‘एमालेले चुनाव हुन्न भनेर पनि कुरा गरेन । एमालले घोषित मितिमै चुनाव गर्नुपर्ने बताएको छ ।’ एमालेका तर्फबाट पोखरेलले निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्दा दलहरुसँग परामर्श गर्नुपर्ने तर्क गरेका थिए भने कैदीहरु बाहिर भएको र सुरक्षाका विषयमा चिन्ता व्यक्त गरे ।

त्यसपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले चुनावमा जानुपर्ने तर्क गरे । श्रेष्ठलाई उदृत गर्दै स्रोतले भन्यो, ‘माओवादीले त निर्वाचनबारे धारणा सार्वजनिक गरिसकेको छ ।’

त्यसपछि मधेशवादी दलका नेताहरु बोले । लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्र शुक्ला र जनता समाजवादी पार्टीका रेणु यादवले धारणा राखे । उनीहरुले जेनजी भनेर आउने, कुटपिट गर्ने क्रम साम्य नभएसम्म परिस्थित कठिन हुने धारणा राखेका थिए । चुनावको वातावरण बनाउनु पर्ने धारणा उनीहरुको थियो ।

त्यसपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले बोले । पाण्डेले निर्वाचन आयोगले दल र दलको अस्तित्व नै नचिन्ने भन्दै प्रश्न गरेका थिए । उनले अन्तरिम सरकारले पनि केही दिन नसकेको, सुरक्षा नदिएको विषय राखेका थिए ।

त्यसपछि, रास्वपाका तर्फबाट महामन्त्री सहमहामन्त्री विपिन आचार्यले बोले । उनले नेताहरू युवा हुनुपर्ने तर्क राखेका थिए । उनले निर्वाचन शान्तिपूर्ण बनाउन नागरिकको दायित्व छैन ? राजनीतिक दलको दायित्व छैन ? भन्दै प्रश्न गरेका थिए । आचार्यले परिस्थित शान्तिपूर्ण बनाउन प्रतिबद्धता गर्नुपर्ने कुरा राखे । आचार्यलाई उदृत गर्दै स्रोत भन्छ, ‘मतपेटिका तोडफोड गर्दिनौं, मतपत्र च्यात्दैनौं वा झगडा गर्दैनौं भनेर सबैले प्रतिबद्धता गर्नुपर्छ ।’ रास्वपाकै उपसभापति डीपी अर्यालले निर्वाचनलाई स्वागत गरे । ‘हामी निर्वाचनमा जान तयार रहेको बताएका छौं,’ उनले भनेका थिए, ‘चुनावका लागि चार महिना पर्याप्त समय हो ।’

समग्रमा निर्वाचनको वातावरण बनाउने कार्य राजनीतिक दलहरूले नै गर्नुपर्नेमा छलफल केन्द्रित रहेको स्रोत बताउँछ ।

राष्ट्रपति पौडेलले शान्तिसुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव पनि दिएका थिए ।

पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने भन्दै राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरेका थिए ।

उनले पार्टीहरूले पनि कन्फ्युजन सिर्जना नगरी जेन–जीको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रस्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्तिसुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन् । जेन–जीहरू हामीहरू सबैको छोरा–नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेका थिइन् ।

कार्कीले फेरि विध्वंश मच्चाउने कुरा त्यागेर चुनाव गराउने तर्फ सोच्नुपर्ने बताएकी थिइन् । सरकारी सुविधा भन्दै दर्जनौं सुरक्षाकर्मीलाई घरायसी काममा लगाएको भन्दै सुविधा खारेज गरेको समेत बताइन् ।