
विराटनगर । झापा विर्तामोडका प्रशोधन निरौला २०७६ सम्म राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा प्रशिक्षण केन्द्र किर्तिपुरमा बोट बिरुवा तथा जडीबुटीको अनुसन्धान गर्ने जागिर खाँदै थिए ।
त्रिचन्द्र कलेजबाट माइक्रोबायोलोजी अध्ययन सकेर काठमाडौं विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा स्नातक गरेका निरौलाको जागिर खाने मोह २०७२ सालको भुकम्पले काठमाडौं तहस नहस बनाएपछि टुट्यो ।
त्यसपछि उनी राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा प्रशिक्षण केन्दको ६ वर्षीय जागिरे अनुभव चटक्कै छाडेर गृहनगर बिर्तामोड फर्किए । अनि कृषि क्षेत्रका विभिन्न विषयमा अध्ययन अनुसन्धानमा जुटे ।
त्यसैक्रममा उनी तन्तु प्रजनन विधि (प्लान्ट टिस्यु कल्चर) द्वारा आलु र केरा लगायत विभिन्न बोट विरुवा उत्पादन गर्ने काममा अब्बल ठहरिए । उनलाई सामाजिक विकास मन्त्रालयले कृषि क्षेत्रका युवा वैज्ञानिक रुपमा सम्मान पनि गर्यो ।
सम्मान पछि प्रशोधनलाई थप जिम्मेवारी बढेको अनुभव भयो । त्यसपछि उनी प्लान्ट टिस्यु कल्चर मार्फत भाइरस फ्रि आलुको बिउ मात्रै उत्पादन गर्ने विषयमा केन्द्रित रहे । त्यसमा पनि उनी सफल भए । फलतः निरौला आलुको माइक्रो ट्युबर (भाइरस फ्रि) उत्पादन गर्ने कृषि वैज्ञानिकका रुपमा परिचित छन् । उनी यसै विषयमा काठमाडौं विश्वविद्यालमा विद्यावारिधि पनि गर्दै छन् ।
अहिले निरौला उनी तन्तु प्रजनन विधि (प्लान्ट टिस्यु कल्चर) द्वारा वार्षिक ५० लाख रुपैयाँभन्दा बढी मूल्यको आलुको बिउ उत्पादन गर्दै आएका छन् । त्यति मात्र होइन निरौला आलु खेतीमा आकर्षित किसानलाई थोरै जमिन र सानो लगानीमा कसरी बढी स्वास्थ्यकर आलु उत्पादन गर्न सकिन्छ र त्यसका लागि मल, बिउ र माटोको व्यवस्थापनका बारेमा ज्ञान पनि दिन्छन् ।
प्रशोधनले २०७६ सालमा झापाको अर्जुनधारा ३ खुदुनाबारीमा १० कठ्ठा जमिनमा दुई करोड भन्दा बढीको लागतमा एपेक्स बायोटेक एन्ड एग्रोफरेस्ट्रि रिसर्च प्रालि नामक संस्था दर्ता गरेर सञ्चालनमा ल्याए । जहाँ अहिले टिस्यु कल्चर प्रविधिबाट आलुको उत्पादन बढाएर किसानलाई थोरै जमिनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रयोग सिद्ध गरेर देखाइरहेका छन् ।

उनको एपेक्स बायोटेक एन्ड एग्रोफरेस्ट्रि रिसर्च प्रालिले अहिले तन्तु प्रजनन् विधि (प्लान्ट टिस्यु कल्चर) प्रविधिवाट वार्षिक ५० लाखको आलुको बिउ बिक्री गरिरहेका छन् । यसअघि उनी केराको बेर्ना उत्पादन गर्ने र गँड्यौले मल पनि उत्पादन गर्थे ।
टिस्यु कल्चरबाट निकालेको बिउ भाइरस र रोगमुक्त हुने भएकाले यसले दिने प्रतिफल निकै राम्रो हुने निरौला बताउँछन् । ल्याब सहितको उनको रिसर्च सेन्टरमा उनले अहिलेसम्म दुई करोडभन्दा बढी लगानी गरिसकेका छन् । किसानहरुलाई सस्तोमा अत्याधिक फल दिने बिउको उत्पादन तथा बिक्री गर्दै आएका छन ।
उनले किसानलाई एउटा दाना आलुको १८ देखी २० रुपैयाँ लागतमा दिन्छन् । एक किलो आलुले परम्परागत शैलीको बिउ र खेती प्रविधिमा १० किलोसम्म आलु फलाउन सकिन्छ तर टिस्यु कल्चरबाट निकालिएको एक केजी बिउको बेर्नाबाट २५ किलो सम्म आलु फलाउन सकिने उनको अनुसन्धान छ । उनी यसबेला हाइड्रोपोनिक प्रविधिमा पनि आलु फलाउन सकिने भन्दै त्यसको पनि परिक्षण गरिरहेका छन् ।
प्रशोधनको यो प्रविधिलाई थप बृहत बनाउन विराटनगरका उद्योगी सुरेन्द्र गोल्छा र पूर्वाञ्चाल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलियाले एन्जल इन्भेस्टमेन्ट नेटवर्कमार्फत लगानी गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरुको लगानीबाट प्रशोधनले आलुको सिजनका लागि १० लाख रुपैयाँ फेन्सिङमा तथा ४० लाख रुपैयाँ सिड उत्पादनमा खर्च गर्ने लक्ष्य राखेका छन् ।

तन्तु प्रजनन विधि (प्लान्ट टिस्यु कल्चर) प्रविधिको तेस्रो पुस्ताको बेर्ना रोप्दा बढी उत्पादन गर्न सकिन्छ । यो बेर्ना रोप्दा एक किलो बराबर घटीमा १८ किलो आलु उत्पादन भएको छ । जबकी परम्परागत रुपमा गरिने आलु खेतीमा एक किलो बिउबाट बढीमा १० किलो पनि उत्पादन हुन गाह्रो छ । प्रशोधनले भने, ‘तन्तु प्रजनन विधिबाट उत्पादन भएको तेस्रो पुस्ताको बिउ आलु खेती गर्ने प्रायः सबै किसान समक्ष पुर्याउने हाम्रो अभियान छ ।’







प्रतिक्रिया