दिल्लीमा जेनजी आन्दोलन चर्किन सक्ने भन्दै सुरक्षाकर्मीले बढाए निगरानी

721
Shares

एजेन्सी । नेपालमा जेनजी युवाले गरेको आन्दोलन हिंसात्मक भएर सरकार ढलेपछि भारत पनि सतर्क भएको छ ।

राजधानी दिल्लीको प्रहरीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

दिल्लीका प्रहरी कमिश्नर सतीश गोल्छाले यस्तो परिस्थितिलाई सम्हाल्नका लागि प्रहरीको गुप्तचर इकाइ, सञ्चालन इकाइ र सशस्त्र प्रहरीलाई कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।

हालै एक बैठकमा कमिश्नर गोल्छाले दुईजना विशेष प्रहरी कमिश्नरहरूलाई गैरघातक हतियारहरूको स्टकको समीक्षा गर्न र आवश्यक परेमा नयाँ प्रविधि वा उपकरण खरिद गर्न सिफारिस गरेका छन् । नेपालमा जस्तै विशाल स्तरको, युवाको अगुवाइमा भएको र नेतृत्वविहीन विरोध प्रदर्शन दिल्लीमा पनि हुन सक्ने वरिष्ठ अधिकारीहरूको आकलन छ ।

प्रहरीले बनाउने कार्ययोजनाले जिल्ला प्रहरी इकाइ, साइबर सेल र सशस्त्र बलहरूका बीच समन्वय गर्नेछ । संवेदनशील क्षेत्रमा ड्रोन निगरानी बढाउने, सीमाक्षेत्रमा निरीक्षण गर्ने र ठूला भीडलाई व्यवस्थापन गर्नका लागि द्रुत समन्वय गर्ने उपायहरू सुझाइएका छन् ।

सामाजिक सञ्जालमा गलत भाष्यलाई प्रतिकार गर्नका लागि कदम चाल्ने र सामाजिक सञ्जाल टोलीहरू परिचालन गर्ने सुझाव पनि दिइनेछ ।