
एजेन्सी । अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले मोटा सैन्य अधिकृत र सेनामा समावेशिताको पहल गर्नेहरूको कटु आलोचना गरेका छन् ।
मंगलवार सैन्य कमान्डरहरूको भेलालाई सम्बोधन गर्दै हेगसेथले सरकारको एजेन्डालाई समर्थन नगर्ने सैनिकहरूलाई राजीनामा दिन आग्रह गरे ।
हेगसेथसँगै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि सैनिकहरूलाई सम्बोधन गरेका थिए । भर्जिनियाको क्वान्टिकोमा भेला भएका एड्मिरल र जनरलहरूलाई ट्रम्पले अमेरिकी शहरमा तैनाथ गरी प्रशिक्षण दिनुपर्ने प्रस्ताव गरेका थिए ।
मूख र छाडा राजनीतिकर्मीहरूले सेनालाई गलत दिशातर्फ डोर्याएको र बाटो बिराएको हेगसेथको भनाइ थियो । रक्षा मन्त्रालयलाई वोक बनाइएको भए पनि अब त्यसलाई रोकिने उनले बताए ।
संसारभरि तैनाथ रहेका शीर्ष अमेरिकी कमान्डरहरू भर्जिनिया आइपुगेका थिए । उनले काला वर्णका जनरल र महिला एड्मिरललाई जागिरबाट हटाएको विषयको प्रतिरक्षा गर्दै उनीहरू भत्केको संस्कृतिको अंग भएको बताए ।
रक्षा मन्त्रालय पेन्टागनले विभेदसम्बन्धी गुनासोको व्यवस्थापनमा आमूल परिवर्तन गर्ने र गलत कामको आरोपको व्यापक छानबिन गर्ने पनि बताए ।
आफूले भनेको कुरा चित्त बुझ्दैन भने राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।
पेन्टागनमा मोटा जनरल र एड्मिरलहरू देखिनु अस्वीकार्य रहेको पनि उनले बताए ।
तन्दुरुस्ती सम्बन्धी सबै मापदण्ड पुरुषको अनुकूल हुने बताउँदै हेगसेथले सैनिकलाई प्रशिक्षित गर्ने कठोर मापदण्ड महत्त्वपूर्ण रहेको भनाइ राखे ।
सेनाले व्यावसायिक मर्यादा कायम राख्नुपर्ने उनको भनाइ थियो । झुस्स दाह्री पालेको सैनिकको काम छैन भनी हेगसेथले कुरा राख्दा हलमा मौनता छाएको थियो ।
विपक्षी डेमोक्रेटहरूले यस कार्यक्रमको निन्दा गरेका छन् । यसले अमेरिकी सेनामा राजनीतिक पक्षधरतालाई प्रोत्साहन गरेको उनीहरूको भनाइ छ ।
ह्वाइट हाउसबाट यस कार्यक्रममा सहभागी हुन जाँदा ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफूलाई मन नपरेको सैन्य अधिकृतलाई बर्खास्त गर्ने बताए ।
सम्बोधनका क्रममा ट्रम्पले ठट्यौली गर्दै आफ्नो कुरा मन नपरेको भए हल छोडेर जान भनेका थिए । तर, त्यसरी जाँदा सैनिकको दर्जा र भविष्य पनि ध्वस्त हुने उनले बताए ।
सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सेनाको प्रशंसा गरे । त्यसका साथै उनले पूर्ववर्ती राष्ट्रपति जो बाइडनको आलोचना गरेका थिए ।








प्रतिक्रिया