
वीरगन्ज । वीरगन्जमा दशैं मेलामा पसल राख्ने बिषयमा दुई समूहबीच भएको झगडाम मंगलबारर राति एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेलामा पसल राख्ने विषयमा भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका ९सनाखत हुन बाँकी० युवकको मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । तर, अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
डिएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया