अभिभावकविहीन बालबालिकालाई दशैंमा नयाँ लुगा

49
Shares

रुपन्देही । लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।

क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादशैंको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष युवराज श्रेष्ठले बालबालिकालाई टीका लगाएर दक्षिणासमेत प्रदान गरिएको बताए । त्यस्तै आश्रममा रहेका बालबालिकालाई बिहानको एक छाक खाना पनि खुवाइएको उनले बताए ।

यस पटकको स्थापना दिवस फरक ढङ्गले मनाउने प्रयासअनुसार आश्रममा कार्यक्रम गरिएको क्लबका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले बताए ।

बडादशैंमा नयाँ कपडा लगाउने, मीठो खानेकुरा खाने प्रचलन छ, नयाँ कपडा नलगाएसम्म बालबालिकामा दशैं आएको अनुभूति पनि हुँदैन, अभिभावकविहीन बालबालिकालाई आफ्ना अभिभावक नभएको अनुभूति नहोस् भन्नका लागि सोमबार उनीहरुलाई नयाँ लत्ताकपडा वितरण गरिएको हो’, उनले भने ।

नेपाल अविनाश अनाथ आश्रममा हाल २२ जना बालबालिका रहेको अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।