अमेरिकाले युक्रेनलाई लामो दूरीको टमाहक क्षेप्यास्त्र दिने सोच बनाउँदै, चर्किने भयो युद्ध

770
Shares

एजेन्सी । रुसी अतिक्रमणकारीहरूका विरुद्ध लामो दूरीको टमाहक क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा युक्रेनले गरेको अनुरोधमा अमेरिकाले सोचविचार गरिरहेको अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युरोपेली देशहरूमा टमाहक क्षेप्यास्त्र बेच्न अनुरोध गरेका छन् । ती देशहरूले त्यो क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउनेछन् ।

यस सम्झौतालाई स्वीकृति दिने नदिने विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तिम निर्णय दिने भ्यान्सको भनाइ छ ।

युरोपेलीहरूले यस विषयमा अनेकौं अनुरोध गरेको खुलासा पनि भ्यान्सले गरे ।

टमाहक क्षेप्यास्त्रहरूको दूरी २५ सय किलोमिटर छ । युक्रेनले यो हतियार पायो भने रुसको राजधानी मस्को पनि क्षेप्यास्त्रको दायरामा आउँछ । रुसले यसलाई युद्ध चर्काउने कदमका रूपमा व्याख्या गरेको छ ।

युक्रेनले अमेरिकासँग लामो दूरीको क्षेप्यास्त्रको अनुरोध गरेको भए पनि ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका थिए । तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति सम्झौता गर्न अस्वीकार गरेकाले ट्रम्प निराश भएका छन् ।

युक्रेनका लागि अमेरिकाका विशेषदूत किथ केलोगले युक्रेन रुसमाथि लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न सक्षम हुनुपर्ने बताएका छन् ।

ट्रम्प र भ्यान्सको भनाइ सुन्दा युक्रेनले लामो दूरीको हतियार पाउने देखिएको केलोगको भनाइ छ । युक्रेनले यो क्षमता उपयोग गरेर रुसको भित्री भागसम्म प्रहार गरे हुन्छ, उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भने ।