
रौतहट । चाडबाडको मौका छोपी भन्सार छलेर ल्याइएको लाखौंको सामानसहित ट्रक चालक र ट्रक रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका -५ हनुमान मन्दिरबाट ना ६ ख ५६२ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।
हनुमान मन्दिरबाट कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको हो । ट्रकमा भन्सार छलेर कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुकालगायतको सामान ल्याइएको थियो ।
ट्रक चालक धादिङको गल्छी गाउँपालिका-६ का प्रेम बहादुर लामाको ३० वर्षीय छोरा विनय लामालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
भन्सार चलान गरिएको ट्रक र सामान सहितको मूल्य ४७ लाख २८ हजार ६ सय ६६ रुपैयाँ बराबरको रहेको प्रवक्ता कार्कीले जानकारी दिए।








प्रतिक्रिया