
एजेन्सी । भारतको कर्नाटक राज्यको धारवाडमा बिहीवार हजारौं जेनजी विद्यार्थीले उमेरहद बढाउन र विभिन्न विभागमा खाली रहेका पद तुरुन्तै बहाल गर्न माग गर्दै जुबिली सर्कलमा ठूलो प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले धेरै वर्षदेखि प्रहरी सईसहितका विभिन्न विभागका पद खाली रहँदा पनि नभरिएको बताएका छन् ।
विभिन्न कलेज र कोचिङ सेन्टरका विद्यार्थीहरू अल कर्नाटक स्टेट स्टुडेन्ट्स एशोसिएशनको ब्यानर बोकेर प्रदर्शनमा सहभागी भएका छन् । उनीहरूले कांग्रेस नेतृत्वको राज्य सरकारलाई ढिलाइ नगरी तत्कालै जागिरका लागि सूचना निकाल्न आग्रह गरे ।
लाखौं विद्यार्थी र कोचिङ सेन्टरहरू लामो समयदेखि सरकारले जागिर नखोलेकाले प्रभावित भएको प्रदर्शनकारीहरूले बताए । प्रहरीका हवलदार र पीएसआई पदको छनोट प्रक्रिया ४–५ वर्षदेखि रोकिएको छ भने एफडीए र एसडीए पदमा ७–८ वर्षदेखि विज्ञापन खुलेको छैन । यसले गर्दा धेरै उम्मेदवारहरूले उमेरको सीमा पार गरिसकेका छन् ।
कर्नाटकमा अहिले सामान्य कोटामा उमेरहद २५ वर्ष छ भने आरक्षण कोटामा २७ वर्ष छ ।
विद्यार्थीहरूले कम्तीमा पाँच वर्ष उमेरहदमा छुट दिन र तत्कालै भर्ती प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेका छन् । साथै, उनीहरूले हालै आएको केएएस सूचना पत्रिकामा गम्भीर गल्ती भएको भन्दै त्यसलाई पुनरवलोकन गरी खारेज गर्न माग गरेका छन् ।
जुबिली सर्कलमा हजारौं विद्यार्थी भेला भएपछि प्रहरीलाई स्थिति नियन्त्रण गर्न निकै कठिनाइ परेको थियो । हुबली–धारवाड प्रहरी आयुक्त एन शशिकुमारले त्यहाँ पुगेर विद्यार्थीलाई सम्झाउने प्रयास गरेका थिए ।
विद्यार्थीहरूले एम्बुलेन्स बाहेक सबै सवारीसाधन रोक्दा धारवाडका मुख्य सडकहरूमा जाम भयो र सहरलाई सामान्य अवस्थामा फर्किन चार घण्टाभन्दा बढी समय लाग्यो ।
कर्नाटकमा प्रहरी भर्नामा उमेरहद बढाउनुपर्ने माग लामो समयदेखि उठिरहेको भए पनि सरकारहरूले यसलाई सम्बोधन नगरेका कारण हजारौँ उम्मेदवार निराश भएका छन् ।
यसैबीच कर्नाटकका विद्यार्थीहरूमाझ काठमाडौंका मेयर बालेन्द्र शाहको चर्चा चल्न थालेको छ । बालेनले कर्नाटकको बंगलुरुमा रहेको एनआईटीटीई मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्ट्रक्चरल इन्जिनियरिङको एमटेक गरेका थिए । सन् २०१६ मा उनले त्यो कोर्स सकेका हुन् ।
उनले एमटेक सक्दा त्यो शिक्षण संस्था भीटीयूमा आबद्ध थियो । अहिले त्यो एनआईटीटीई प्रस्तावित विश्वविद्यालय मंगलोरमा आबद्ध छ ।
नेपालमा जेनजीको आन्दोलनले सत्तापलट गराएपछि बालेन किङमेकरका रूपमा उदाएका छन् । उनकै सिफारिसमा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू नियुक्त गरेकी छन् । त्यसैले उनी पढेको ठाउँ कर्नाटकका जेनजी विद्यार्थीहरू उनको विषयमा चर्चा गरिरहेका छन् ।







प्रतिक्रिया