नेपालमा सत्तापलटको भूरणनीति, भारत र चीनलाई घेर्ने अमेरिकी खेल

3.4k
Shares

एजेन्सी । हालैका दिनमा डिस्कोर्डजस्ता गेम च्याटिङ प्लेटफर्ममा गरिएको चुनावबाट नेपालमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइनुलाई ग्लोबलिस्ट सञ्चारमाध्यमहरूले “लोकतान्त्रिक प्रगति” र भूराजनीतिक तटस्थताको उदाहरण भनेर प्रचार गरेका छन् ।

तर, यस्तो व्याख्या सतही मात्र हो र यसले गम्भीर भूराजनीतिक विश्लेषणको मुख्य पक्षका पमा रहेको भौतिक र मानव (भूगोल) लाई बेवास्ता गर्छ ।

कार्की भ्रष्टाचारविरुद्धको अडानका लागि चर्चित हिन्दू महिला नेताको रूपमा उदाएकी थिइन् ।

नेपाल प्रायः पूर्ण रूपमा हिन्दू देश हो, यहाँ मुसलमानको संख्या करिब ५ प्रतिशत मात्र छ । यस्तो अवस्थामा धार्मिक अल्पसंख्यकबाट विद्रोह वा सत्ताकब्जा हुने सम्भावना न्यून रहन्छ । बरू सम्भावित कट्टरपन्थी विद्रोह हिन्दू राष्ट्रवादबाट आउन सक्छ । त्यसको जरो भारतमा पनि छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसलाई संस्थागत रूपमा नियन्त्रणमा राखेका छन् ।

पश्चिममा मोदीलाई “हिन्दू कट्टरपन्थी” भनेर चित्रित गर्ने गरिएको भए पनि वास्तविकता धेरै जटिल छ । मोदीले राजनीतिक समर्थनका लागि हिन्दूत्वको भावनामा भरोसा गर्छन् तर शासन भने सावधानीपूर्वक र संयमतापूर्वक गर्छन् । मोदीले आन्तरिक दबाबलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने गरेका छन् र भारतलाई अस्थिर पार्न सक्ने बाह्य मोर्चाहरू खोलेका छैनन् । बंगलादेशमा हिन्दूहरूको नरसंहार वा पाकिस्तानसँगको युद्धमा उनको संयमित प्रतिक्रियाले यसैलाई पुष्टि गर्छ ।

तर, नेपालको अस्थिरताले भारतको छिमेकमै अर्को खतरनाक समस्या थप्ने सामर्थ्य राख्छ । पहिलो, पाकिस्तानमा इमरान खानको मध्यमार्गी सरकार हटाएपछि त्यहाँ अराजकता र युद्ध सुरु भयो । त्यसपछि, बंगलादेशमा भएको सत्तापलटले वहाबी कट्टरपन्थीहरूलाई अवसर खोलिदियो र तिनले हिन्दूहरूमाथि अत्याचार गर्न थाले । अहिले नेपालमा पनि “लोकतान्त्रिक परिवर्तन” को आवरणमा कट्टरपन्थी शक्तिको उदय भइरहेको छ ।

यस अवस्थाले भारतलाई फाइदा पुग्छ र हिन्दू धर्म बलियो हुन्छ भन्ने सोच अल्पदृष्टि हो । वास्तविकता भन्नुपर्दा भारत घेरिँदै गएको छ । नेपालको कट्टरपन्थीकरणले भारतभित्रै धार्मिक तनाव बढाउनेछ । त्यहाँ ठूलो मुस्लिम जनसंख्या पनि छ । यस परिवर्तनले हिमालय क्षेत्रमा चीनविरोधी नयाँ मोर्चा खोल्नेछ । नेपालका हिन्दू राष्ट्रवादीहरू प्रायः खुलेआम चीनविरोधी हुन्छन् र तिनीहरूलाई तिब्बत तथा चीनका पश्चिमी प्रान्तहरू अस्थिर बनाउन प्रयोग गर्न सकिन्छन् ।

यहाँ मुख्य कुरा प्रस्ट हुन्छ : भारत र चीन प्रतिद्वन्द्वी भए पनि एकअर्काका अस्तित्वगत शत्रु हैनन् । पश्चिमी सैन्य गठबन्धन नेटो रहुन्जेल एकअर्काको साथ चाहिन्छ भनी दुवैले बुझेका छन् । भारतले शाङ्हाई सहयोग संगठन (एससीओ) मा सहभागिता जनायो । यी दुवै एसियाली शक्तिहरूले समग्र पश्चिमबाट आउने खतरालाई गम्भीर रूपमा लिएका छन् भन्ने कुरा भारतको यस सहभागिताले देखाउँछ । भारत कमजोर भएमा चीनको दक्षिणपश्चिमी भाग असुरक्षित बन्छ । विशेषगरी भारत टुक्रिएर पश्चिमसमर्थक साना राज्य बनेको खण्डमा चीन पनि असुरक्षित हुन्छ । त्यस्तै चीन अस्थिर भएमा युरेसियाली रणनीति धराशायी हुन्छ र अन्ततः रुसको पूर्वी सीमामा संकट निम्तिन्छ ।

संक्षेपमा भन्नुपर्दा, नेपालमा विकसित भइरहेको घटनाक्रम स्थानीय राजनीतिक परिवर्तन मात्र हैन । यो भारत र चीनलाई घेर्ने अमेरिकाको अर्को रणनीतिक चाल हो । यो दक्षिण एसियालाई अस्थिर बनाउने र अप्रत्यक्ष रूपमा युरेसियाको मुटु नै कमजोर पार्ने प्रयास हो । यसले बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणलाई रोक्छ । भारत र अमेरिकाबीच कूटनीतिक तनाव बढेको बेला मोदीले चीन तथा रुससँग गहिरो सहकार्य सुरु गरेपछि यो संकट सतहमा आउनु संयोग होइन ।

नेटो विश्वको प्रमुख साम्राज्यवादी सैन्य गठबन्धनको रूपमा रहुन्जेल भारत र चीन जस्ता ठूला युरेसियाली सभ्यताहरूले ऐतिहासिक र क्षेत्रीय प्रतिद्वन्द्विता छोडेर सहकार्य गर्नुपर्छ । अन्यथा, एकपछि अर्को गरी पतन सुरु हुन्छ । नेपालमा भएको भनिएको “लोकतान्त्रिक सत्ताकब्जा” पश्चिमले दिएको चेतावनी हो । पश्चिमले आफूमाथिको खतरा राम्ररी बुझेको छ र बहुसभ्यतामूलक युरेसियाली गठबन्धनको उदय रोक्न सक्दो प्रयास गरिरहेको छ ।

ब्रिक्स पत्रकार संघका सदस्य लुकास लेरोज सेन्टर फर जियोस्ट्राटेजिक स्टडीजमा शोधकर्ता र सैन्य मामिलाविद् हुन् ।

स्ट्राटेजिक कल्चर फाउन्डेशनमा प्रकाशित लेखको अनुवाद